अबुधाबीमा राहदानी नवीकरण सेवा शिविर
काठमाडौं,माघ १४ । नेपाली राजदूतावास अबुधाबीमा विशेष काउन्टर स्थापना गरी युएईमा कार्यरत नेपालीका लागि राहदानी नवीकरण सेवा शिविर सञ्चालन गरिएको छ ।
दूतावासमा राहदानी नवीकरण गर्न आउने सेवाग्राहीको संख्या बढ्दै गएको अवस्थालाई ध्यानमा राखी भिषाको अवधि समाप्त भइसकेका, हुन गइरहेका, राहदानी हराएका र राहदानीको म्याद सकिनै लागेका तथा विभिन्न कारणले समस्यामा परी राहदानी नवीकरण गर्नुपर्ने अवस्था भएका नेपाली नागरिकका लागि प्राथमिकता दिई शिविर सञ्चालन गरिएको बताइएको छ ।
शिविरमा ५४८ जना नेपालीको राहदानी नवीकरणको गरिएको बताइएको छ । सो अवसरमा कन्सुलर प्रमाणीकरण सेवा समेत उपलब्ध गराइएको थियो । राहदानी नवीकरणका लागि विशेष काउन्टर सञ्चालन गर्ने कार्यमा गैर आवासीय नेपाली संघ युएईले स्वयंसेवक उपलब्ध गराई आवश्यक सहयोग प्रदान गरेको बताइएको छ ।
राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न दूतावास सधैं क्रियाशील र प्रतिबद्ध रहेको बताइएको छ । दूतावासले यसअघि पनि विभिन्न सार्वजनिक विदाका दिनमा विशेष काउन्टर सञ्चालन गरेर यस किसिमका शिविरहरू सञ्चालन गर्दै आएको र भविष्यमा पनि सेवा प्रवाह गर्ने प्रतिबद्धता दूतावासको छ ।