बाल यौन दुर्व्यवहार कसुरमा कृषि विज्ञ मदन दोषी ठहर



खोटाङ,माघ १३ । कृषि विज्ञ मदन राई बाल यौन दुर्व्यवहार  कसुरमा दोषी ठहर भएका छन्  । जिल्ला अदालत खोटाङले राईलाई बाल यौन दुरुपयोग कसुरमा दोषी ठहराएको हो । 

जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई माघ १० गते कसुर ठहर गरेको हो । आगामी माघ २५ गतेको फैसलाबाट राईले पाउने सजाय निर्धारण हुने जिल्ला अदालतका श्रेष्तेदार सिताराम खड्काले बताए । 

कृषिविज्ञ राईमाथि आफैँले सञ्चालन गरेको खोटाङको जिल्ला सदरमुकाम नजिकै रहेको सोल्मास्थित शुभद्रा मदन (शुभम) फाउण्डेसनका किशोरीलाई यौन दुर्व्यवहार  गरेको अभियोग छ । फाउण्डेसनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीया किशोरीले यौन दुर्व्यवहार  गरेको भन्दै प्रहरीलाई दिएको उजुरीका आधारमा राई २०८० वैशाख २९ गते पक्राउ परेका थिए । मुद्दाको फैसला नभएसम्म फाउण्डेसनमा जान नपाउने गरी २०८० जेठ २२ गते चार लाख धरौटीमा राईलाई रिहा गरिएको थियो । 

सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा राईलाई तीन वर्ष कैद र ७५ हजार जरिवाना माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस्