नुवाकोट शिवपुरीमा सोनाम ल्होछार कार्यक्रम र खोलेगाउँ महोत्सवको तयारी
नुवाकोट,माघ १३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नं. ६ ले सोनाम ल्होछारकै अवसरमा खोलेगाउँ महोत्सव गर्ने तयारी गरेको छ । स्थानीय उत्पादन बजारीकरणका लागि ल्होछारसंगै खोलेगाउँ महोत्सव गर्ने तयारी गरिएको वडा नम्बर ६ का अध्यक्ष बिष्णु श्रेष्ठले बताए ।
गतवर्ष पनि वडा नम्बर ६ ले खोलेगाउँको शम्शेरचोकमा पुस २९ र माघ १ गते गरी दुई दिन महोत्सव गरेको थियोे । यसवर्ष भने सोनाम ल्होछार बिशेष कार्यक्रमसंगै स्थानीय वस्तु बिक्रीवितरणका लागि प्रोत्साहन स्वरुप यही माघ १८ र १९ गते महोत्सवको तयारी थालिएको वडा सदस्य कमल तामाङले बताए ।
वडा सदस्य तामाङले नुवाकोटमा जन्मिएर काठमाडौं बसोबास गर्दै आएका सबैजना आउन र पर्यटन प्रवर्द्धन गर्न समेत आग्रह गरे । महोत्सव स्थल काठमाडौंको सामाखुशीबाट मात्र २० किलोमिटरको दुरीमा छ । महोत्सव तथा विविध मनोरञ्जनात्मक कार्यक्रमको तयारी गरिएको आयोजक वडाले जनाएको छ । वडाले पछिल्लो समय समुन्द्रादेवी मन्दिर, लप्से झरना महोत्सव, विविध शैक्षिक गतिविधि लगायतका विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।