भाटभटेनी सुपरमार्केट्सको कर विवरण निजी अडिट फर्मले हेरफेर गरेको प्रहरीको खुलासा
काठमाडौं,माघ १३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केट्सको कर विवरण उसको निजी अडिट फर्मले हेरफेर गरेको खुलासा गरेको छ ।
सीआईबीले शुक्रवार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार भाटभटेनीको लेखापरीक्षण गर्ने निजी फर्म चितवनको बिहादी बिजनेश म्यानेजमेण्टमा कार्यरत दुई जनाले राजस्व रकममा हेरफेर गरेका हुन् ।
सो आरोपमा प्रहरीले चितवन महानगरपालिका–११ बस्ने २८ वर्षीय सन्तोष पराजुली र २२ वर्षीय परिन पाण्डेलाई पक्राउ गरिसकेको छ ।
उनीहरूले आन्तरिक राजस्व विभागको प्रणालीभित्र छिरेर भाटभटेनीको कर विवरण नै हेरफेर गरेको भेटिएको प्रहरीले जनाएको छ । उनीहरूले अनधिकृत रूपमा अर्को कम्पनीको पासवर्डमा पहुँच बनाई कर विवरण हेरफेर गरेको भेटिएको प्रहरीको भनाइ छ ।
‘करदाताहरूले परामर्शदाता हायर गर्ने र विवरणहरू दाखिला गर्न दिने प्रवृत्ति छ,’ शाहीले भने, ‘परामर्शदातालाई युजर नेम, पासवर्ड दिइएको हुन्छ । परामर्शदाताले लग–इन गर्दै जाँदा अर्को करदाताको एडमिनमा गएको देखिन्छ र अडिट फर्मले असम्बद्ध कम्पनीको कर विवरण म्यानुपुलेट गरेको देखिन्छ ।’