वीरगञ्ज नाका : बढ्यो इन्धन आयात, घट्यो भुक्तानी
वीरगञ्ज,माघ १३ । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ६ महीनामा इन्धनको आयात बढेको छ । यस्ता बस्तुको आयात परिमाण बढे पनि आयातवापत बाहिरिने रकम भने घटेको वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) भन्सारको तथ्यांकले देखाएको छ ।
पेट्रोलियम पदार्थ आयात हुने यो मुख्य नाकाबाट गत आवको समीक्षा अवधिमा ८८ अर्ब ७८ करोड रुपैयाँको इन्धन भित्रिएको थियो । अहिले यो रकम घटेर ८७ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ ।
चालू आवको पछिल्लो समयमा विकास निर्माणका काम अघि बढेकाले पेट्रोलियम पदार्थको आयात बढेको आईसीपी भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए ।
यो अवधिमा सबैभन्दा बढी डिजेल आयात भएको छ । विकास निर्माण, उत्पादन, सार्वजनिक यातायात र ढुवानीका साधनमा बढी खपत हुने भएकाले अन्यको तुलनामा डिजेल बढी आयात हुन्छ । बितेको ६ महीनामा ४२ अर्ब २४ करोड रुपैयाँबराबरको ४ लाख ७९ हजार किलोलिटर डिजेल भित्रिएको भन्सारले बताएको छ ।
यो अवघिमा २ लाख २० हजार किलोलिटर पट्रोल भित्र्याउन नेपाल आयल निगमले भारतीय आयल निगमलाई १८ अर्ब ९७ करोड रुपैयाँ भुक्तानी गरेको छ । बितेका ६ महीनामा १७ अर्ब ६३ करोड रुपैयाँबराबरको १५ करोड ५१ लाख किलोग्राम एलपी ग्यास आयात भएको छ ।
आयल निगमले वीरगञ्ज नाकाबाट ८ अर्ब ९ करोड रुपैयाँबराबरको ८९ हजार किलोलिटर हवाई इन्धन भित्र्याएको तथ्यांक भन्सारसँग छ । यो अवधिमा ४ हजार किलोलिटर मट्टितेल आयात भएको भन्सारले बताएको छ ।