विक्री नभएको भन्दै चितवनका किसानले चलाए तरकारीमा ट्याक्टर



चितवन,माघ १३ । विक्री नभएको भन्दै गोलभेँडा, फर्सी, काँक्रो लगायतका तरकारी ट्याक्टरले जोत्दै आएका किसानले यसपटक भने बन्दा, काउलीमा ट्याक्टर लगाएर जोतेका छन । भरतपुर–२४, नयाँबस्तीमा केरूङ्गा ताजा तरकारी तथा फलफूल सहकारी संस्थामा आबद्ध किसानहरूले खेतबाट तरकारी विक्री हुन छाडेपछि ट्याक्टरले जोतेर नष्ट गर्न थालेका हुन् ।

किसानले उत्पादन गरेको काउलीले बजार मूल्य नै नपाएर बारीबाटै नउठ्ने भएपछि बारीमै जोत्न बाध्य भएका हुन् । सहकारीमा आबद्ध किसान अर्जुन पुरीले १० कठ्ठामा लगाएको काउलीले बजार नपाएपछि ट्याक्टरले जोत्नुसिवाय केही उपाय नरहेको बताए । ‘तरकारी बारीमै कुहिने अवस्था आउन थाल्यो । विक्री गर्दा लागतमुल्य त के लेवर खर्च पनि उठेन अनि जोत्न बाध्य भयौँ ।’पुरीले भने ।

करिब तीन लाखको लगानीमा १० कठ्ठामा काउली लगाएको तर पटकपटक बजार पठाउन पनि काउली विक्री नहुने भएपछि जोतेको उनले बगाए । एक महीनासम्म तरकारीले भाउ पाउला, विक्री होला भनेर कुरेर बस्दाबस्दै तरकारी विक्री नभएको उनको भनाइ छ । अब सो जग्गामा टमाटर लगाउने तयारी रहेको उनले बताए ।

किसानका उत्पादनमा ट्याक्टर चलाउन सहकारीकै ट्याक्टर नि:शुल्क पठाइएको अध्यक्ष जनकराज पुरीले बताए । तरकारी उत्पादन भए पनि बजारको अभाव हुँदा र तरकारी खरिद गर्ने व्यवसायी नआउँदा समस्या भएको उनले बताए । उनले भने, ‘तरकारी उत्पादन हुने मुख्य समयमा उत्पादित तरकारी विक्री नहुँदा चिन्ता बढेको थियो । अहिले उत्पादन राम्रो भयो , विक्री हुँदैन । ’

भारतबाट यस्ता तरकारी प्रशस्त आएकोले पनि नेपाली उत्पादनले बजार नपाएको उनको भनाई छ । उनका अनुसार अहिले थोक बजारमा बन्दा चार–पाँच रूपैयाँ प्रतिकिलोमा विक्री भइरहेको छ । सबै उत्पादनले सजिलै बजार नपाउन सक्छन् भने राज्यले किसानका उत्पादनलाई वैकल्पिक खाद्य सामग्रीमा परिणत गर्ने सीप, ज्ञान र प्रविधिद्वारा संरक्षण गराउन जरूरी रहेको अध्यक्ष पुरीको भनाइ छ ।

भरतपुर महानगरपालिका–२४ का किसानहरूले केरूङ्गा सामूहिक तरकारी कृषि फार्म खोलेर ६२ बिघा जमिनमा सामूहिक तरकारीखेती गरेका छन् । पूर्ववडाध्यक्षसमेत रहेका अगुवा किसान कान्छा मल्लका अनुसार सामूहिक खेती गर्न प्रति बिघा वार्षिक ४० हजार रुपैयाँका दरले पाँच वर्षका लागि जग्गा भाडामा लिइएको हो । १२ बिघामा सामूहिक तरकारीखेती गर्दा सफल भएपछि उत्साही भएर ५० बिघा थपेको मल्लले बताए ।

पश्चिम चितवनलाई तरकारीको पकेट क्षेत्रका रुपमा लिइन्छ । अझ भरतपुर–२४ त तरकारी उत्पादनको केन्द्र नै हो, जहाँ केरूङ्गा सहकारी क्रियाशील छ । यस क्षेत्रमा चार सयभन्दा बढी किसानले व्यावसायिकरुपमा तरकारीखेती गर्दै आएका छन् । भरतपुर–२४ का स्थानीयको मुख्य आयस्रोत नै तरकारी हो ।उक्त वडामा केरूङ्गा ताजा तरकारी उत्पादक सहकारी संस्थाअन्तर्गत करिब ५ सय बिघा जमिनमा तरकारीखेती हुन्छ । साथै करिब १ सय बिघा जमिनमा सामूहिक तरकारीखेती हुँदै आएको छ । सहकारी र सामूहिक खेतीमा मात्रै करिब एक हजार जना किसान आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्