सरकारमा पार्टीको उपस्थिति सशक्त बनाउनुपर्ने नेपाली कांग्रेसको निष्कर्ष
काठमाडौ,माघ १२ । नेपाली काँग्रेसले सरकारको कामकारबाहीलाई अझ बढी प्रभावकारी बनाउन सरकारमा पार्टीको उपस्थितिलाई सशक्त बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।
नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूसहितको बैठकमा नेताहरूले सरकारको कामकारबाहीलाई तीव्रता दिनुपर्ने र त्यसका लागि सरकारमा सहभागी दलहरुबीच समन्वय गरी अघि बढ्नु जरुरी रहेको धारणा राखे ।
बैठकमा सत्तारुढ प्रमुख दुई दलको संयन्त्रले गरिरहेका कामकारबाही, हालै जारी भएको अध्यादेशको औचित्य र समग्र सरकारको कामकारबाहीका बारेमा गृहमन्त्री रमेश लेखकले र संसद्को कामकारबाही बारे पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी गराएको नेपाली काँग्रेसले जनाएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिनुहुँदै पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले संविधान संशोधनका विषयमा गम्भीर गृहकार्यको थालनी गर्नुपर्ने र त्यस विषयमा सरकारको संयन्त्रका साथै पार्टीगत रुपमा धारणा तय गरी अघि बढ्नुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।
यस्तै, बैठकमा आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको गृहमन्त्री रमेश लेखकले पार्टीलाई जानकारी गराए भने प्रमुख सचेतक श्याम घिमिरेले संसदमा विचाराधिन विधेयकहरूलाई आउँदो अधिवेशनमा तदारुकताका साथ पारित गर्नेतर्फ सबै लाग्नुपर्ने र त्यसका लागि संसदीय समितिहरू अझ बढी क्रियाशील हुन जरुरी रहेकोमा जोड दिए ।
यस्तै, बैठकमा नेपाली काँग्रेसका तर्फबाट सरकारमा मन्त्रीहरूको कामकारबाहीलाई जनताले अपेक्षा गरेअनुरूप नतिजामुखी बनाउनुपर्नेमा पनि नेताहरूबाट सुझाव आएको पार्टी प्रवक्ता डा.महतले जानकारी दिए ।
यसअघि, बैठकमा संक्षिप्त सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई केही समस्या भए पार्टीकै बैठकमा राख्न निर्देशन दिनुभएको पार्टीका नेताहरूले जानकारी दिए ।
बैठकमा सभापति देउवाले पार्टी नेताहरूलाई एक ढिक्का भएर सरकारको कामकारबाहीलाई तीव्रता दिन समेत निर्देशन दिए ।