पर्साका पत्रकारलाई अब निःशुल्क कानूनी सेवा
वीरगञ्ज,माघ १२ । पर्साका पत्रकारहरूले अब निःशुल्क कानूनी सेवा पाउने भएका छन् । नेपाल पत्रकार महासंघ पर्सा र पर्सा जिल्ला अदालत नेपाल बार एसोसिएसनबीच यस्तो समझदारी भएको हो ।
पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल र बार एसोसिएसन पर्साका अध्यक्ष कमलमोहन पोखरेलले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
पर्सा जिल्लालाई आधार बनाएर पत्रकारिता गर्ने पत्रकारहरूलाई समाचार लेखेका कारण आइपर्ने मुद्दामामिलामा आर्थिक भार खेप्न नपर्ने गरी बार एसोसिएसनले आफना सदस्य कानून व्यवसायीमार्फत सेवा उपलब्ध गराउने भएको छ । एकअर्का पक्षको व्यावसायिक प्रवर्द्धन र हित सुरक्षाको पक्षमा सकारात्मक सहकार्य गर्न दुवै पक्ष सहमत भएका छन् ।
पर्साका पत्रकारहरुले कानून व्यवसायीहरूको पेशागत हित प्रवर्द्धनमा सरकारात्मक सहयोग र सहजीकरण गर्ने पनि समझदारीपत्रमा उल्लेख गरिएको छ । समझदारीको समयावधि आगामी ३ वर्षसम्म कायम रहने छ।
लोकतन्त्र र विधिको शासनको पक्षमा पत्रकार र कानून व्यवसायीबीच हुँदै आएको सहकार्यलाई बलियो र संस्थागत बनाउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको पत्रकार महासंघका अध्यक्ष खनालले बताए ।
‘विधिको शासन, नागरिक सर्वोच्चता, सुशासन र समृद्धिका लागि लोकतन्त्रको सुदृढीकरण हुनुपर्छ । लोकतन्त्र बलियो बनाउन प्रेस स्वतन्त्रता नभइ हुँदैन, अध्यक्ष खनालले भने, ‘अहिले विभिन्न बाहानामा प्रेस स्वतन्त्रता खुम्च्याउने काम भएको छ । विगतमा लोकतन्त्र, नागरिक अधिकार र स्वतन्त्र प्रेसका लागि लडेका पत्रकार र कानून व्यवसायी फेरि एक ठाउँमा उभिनुपर्ने अवस्था आएको छ ।’
बार एसोसिएसनका अध्यक्ष पोखरेलले दुवै पक्षको पेशागत सुरक्षा र प्रवर्द्धनका साथसाथै मानव अधिकार, सामाजिक न्याय, शुसासन र पर्सा जिल्लाको अर्थसामाजिक, न्यायिक क्षेत्रको अग्रगतिका लागि सहकार्य गरिने बताए । सामाजिक मुद्दाहरुमा केन्द्रीत रहेर विभिन्न बहस, अन्तरक्रियाहरू गरिने र यसबाट समाजमा विधिको शासन व्यवस्थाका आधारहरूलाई बलियो बनाउने उनको भनाइ थियो ।