नेपाल–भारत ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक : तीनओटा नयाँ अन्तरदेशीय प्रशारण लाइन बनाउन अध्ययन गर्ने समझदारी



काठमाडौं,माघ १२ । नेपाल–भारत ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदल बैठकले तीनओटा नयाँ अन्तरदेशीय प्रशारण लाइन बनाउन अध्ययन गर्ने समझदारी गरेको छ । 

गत बुधवार भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न बैठकले ४०० केभीका निजगढी–मोतिहारी र कोहलपुर–लखनउ र २२० केभीको चमेलिया–जौलजीबी अन्तरदेशीय प्रशारण लाइन बनाउनका लागि अध्ययन गर्ने समझदारी गरेको हो । 

बैठकले ४०० केभीका इनरुवा–पूर्णिया र दोदुधारा–बरेली प्रशारण लाइन निर्माणको मोडालिटीमा पनि सहमति गरेको छ, जसअनुसार आ-आफ्नो देशमा रहेको प्रशारण लाइनमा बहुमत शेयर सम्बन्धित देशको रहने भएको छ ।  

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवत्ता सन्दीप देवका अनुसार आ–आफ्नो देशमा प्रशारण लाइन बनाउन दुई देशबीच छुट्टाछुट्टै जोइन्ट भेन्चर कम्पनी खडा गरिने भएको छ । नेपालतर्फको कम्पनीमा नेपालको अधिक शेयर हुने र भारतको कम्पनीमा अधिक शेयर हुने बताइएको छ ।

यी सबै सहमतिको कार्यान्वयन भने सचिवस्तरीय बैठकले अनुमोदन गरेपछि हुने उनले बताए । नेपालको तर्फबाट उक्त बैठकको नेतृत्व सहसचिव देवले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्