रायोको सागपछि सबैभन्दा बढी विष सिमीमा भेटियो
काठमाडौं,माघ १२ । देशकै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार कालीमाटीमा भित्रिने तरकारी/फलफूलमा केही दिनयता दिनहुँजसो मानव स्वास्थ्यलाई नकारात्मक असर गर्ने विषादी अत्यधिक मात्रामा भेटिन थालेको छ ।
व्यावसायिक कृषिको विकासले गर्दा नेपालमा पछिल्लो समय विषादीको आयात र प्रयोग दुवै बढ्दै गएको सम्बद्ध अधिकारीहरूले बताउँदै आएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको परीक्षणका क्रममा गत पुस २४ मा कालीमाटी भित्रिएको रायोको सागमा सबैभन्दा बढी ९९ प्रतिशतसम्म विषादी प्रयोग भएको पाइएको थियो । त्यसयता पटकपटक तरकारीमा विषादी अत्यधिक मात्रामा भेटिँदै आएको छ ।
पछिल्लोपटक चितवनबाट ल्याइएको ११४ किलो हरियो सिमीमा ४२ प्रतिशतसम्म इन्जाइम इन्हिबिसन (रोकावट वा अवरोध) दर पाइएको विभागले जनाएको छ । विभागले बुधवार रातिदेखि बिहीवार बिहान ५ बजेसम्म १५० ओटा नमूना परीक्षण गरेको थियो ।
मापदण्डबमोजिम इन्जाइम इन्हिबिसन दर ३५ प्रतिशतभन्दा कम भएकालाई खानयोग्य मानिन्छ । यो दर ३५ देखि ४५ प्रतिशत भएकोलाई क्वारेन्टाइन होल्ड (केही दिन राखेर) गरी पुन: परीक्षण गर्ने र ४५ प्रतिशतभन्दा बढी भएमा अस्वीकृत गरी नष्ट गर्नुपर्ने प्रावधान छ ।
‘केही वर्षपहिलेसम्म विषादीको प्रयोग नगरी उत्पादन भइरहेका बालीनालीमा अहिले विषादी हाल्नैपर्ने अवस्था सृजना भएको छ,’ प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटा भन्छन्, ‘यसको मुख्य कारण व्यावसायिक कृषिको वृद्धिले बेमौसमी बाली उत्पादन र जलवायु परिवर्तनका कारण नयाँनयाँ रोग र कीराले बालीलाई आक्रमण गर्नु हो ।’
केन्द्रको तथ्यांकअनुसार नेपालमा पछिल्लो समय विषादी आयातको मात्रा पनि ह्वात्तै बढेको छ । केन्द्रका अनुसार आर्थिक वर्ष (आव) २०७५/७६ मा ८०९ मेट्रिक टन विषादी आयात भएकोमा आव २०७९/८० मा यो बढेर १ हजार १८३ मेट्रिक टन पुगेको छ ।
केन्द्रमा कीटनाशक, ढुसीनाशक, ब्याक्टेरियानाशक, सुलसुलेनाशक, शंखेकीरानाशक, मुसानाशक, कीरानाशक र जैविक समूहका विषादीमा सामान्य नामका आधारमा १६८ र व्यापारिक नामका आधारमा ५ हजार ८०७ विषादी पञ्जीकरण भएका छन् ।
विषादी आयातको मात्रामा भन्दा पनि प्रयोगमा विशेष ध्यान दिनुपर्ने सापकोटा बताउँछन् । अहिले नेपालमा आयात हुने गरेका विषादी सरकारले मान्यता दिएकै हुन् । तर, किसानले ती विषादी तरकारी र फलफूलमा छरेपछि त्यसको प्रकृतिअनुसार कुनुपर्ने समयभन्दा अगावै बजारमा पुर्याउँदा उपभोक्ताको लागि खतरा बनिरहेको उनले बताए ।
विषादीयुक्त तरकारी र फलफूल खाँदा मानिसको स्वास्थ्यमा प्रत्यक्ष रूपमा असर पर्ने चिकित्सक बताउँछन् । मुटुरोग विशेषज्ञ डा. अर्जुन बुढाथोकीका अनुसार तरकारी र फलफूलमा प्रयोग भएको विषादीले मानव शरीरको सबै अंगमा असर गर्ने भएकाले यसबाट बच्नुपर्ने हुन्छ । ‘हाम्रो शरीरको त्यस्तो कुनै अंग हुँदैन जहाँ विषादीले असर गर्दैन ।
विषादी बढी भएका तरकारी प्रयोगले मुख्य गरी मुटु, छाला, नशासम्बन्धी रोग, महिलाको रजस्वला र प्रजननमा समस्या ल्याउनुका साथै सबै किसिमका क्यान्सरमा यसले भूमिका खेल्छ,’ उनले भने । त्यसैले यसबाट बच्न तरकारीलाई कम्तीमा ५ पटकसम्म सफा पानीले पखाल्नुपर्छ । नुनपानी वा पोटास मिसाइएको पानीले पखालेर पनि विषादीको अवशेष न्यूनीकरण गर्न सकिने उनले बताए ।