सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’



काठमाडौं,माघ ११ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको आज प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ‘ब्रेक थ्रु’ सम्पन्न भएको हो ।

‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायत उपस्थिति रहेको थियो।

प्रधानमन्त्रीको सम्बोधनपछि ‘ब्रेक थ्रु’ उत्सवका लागि खन्न बाँकी राखिएको १.८ मिटर भागमा प्राविधिकले ब्लास्ट (विष्फोट) गराएर छिचोलेको थियो । दक्षिणतर्फ सिद्धबाबा मन्दिर र उत्तरतर्फ तिनाउ जलविद्युत आयोजनाको हेडaक्सतिरबाट खनिँदै आएको सुरुङ छिचोलिएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ।

यो सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी निर्माणको ठेक्का लगाएको थियो। सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ। तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको हो। त्यहाँ पहिलो बाइपासको लम्बाइ १५१ मिटर, दोस्रोको लम्बाइ १६१ मिटर र तेस्रोको १३० मिटर छ।

पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो। सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस्