सिप्रदी ट्रेडिङद्वारा महानगर यातायातलाई ४० वटा नयाँ बस हस्तान्तरण
काठमाडौँ,माघ ११ । महानगर यातायात प्रालिले सेवा विस्तार गर्दै आजबाट थप ४० वटा बस सञ्चालनमा ल्याएको छ । बिहिबार नैकापस्थित सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेड आयोजित एक कार्यक्रममा उक्त ४० वटा नयाँ बसको साँचो महानगर यातायातलाई हस्तान्तरण गरिएको हो ।
२० करोड लगानीमा उक्त बस सञ्चालनमा आएको हो । यी बसहरू ३२ सिट क्षमताका हुन्। बसको लम्बाई साढे आठ मिटर छ। नयाँ बस थपिएसँगै महानगर यातायातको बस संख्या ८९ पुगेको छ। कम्पनीले आगामी दुई महिनाभित्रमा दश वटा विद्युतीय बस समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ।
यी नयाँ बसहरू थानकोटदेखि बनेपासम्मको नयाँ रूटमा सञ्चालन हुनेछन्। यसले हजारौं यात्रुहरूको यात्रा सहज बनाउँदै, सस्तो र भरपर्दो यातायात सेवा प्रदान गर्नेछ। हाल महानगर यातायातमा ३७ जना बोर्ड सदस्यहरू (१९ पुराना र १८ नयाँ सदस्यहरू) छन्।
कार्यक्रममा महानगर यातायातका कोषाध्यक्ष हरि प्रसाद रिमालसिप्रदी ट्रेडिङ्गसँगको हाम्रो सहकार्यलेअझ बलियो बनाएको बताएका छन् ।
यस अवसरमा महानगर यातायातका उपाध्यक्ष सन्तोष खतिवडाले महानगर यातायातलाई अब पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिने बताए । ‘महानगर यातायातलाई पब्लिक लिमिटेड कम्पनीका रूपमा अघि बढ्दै, हामीले आफ्नो सेयर आइपीओ जारी गर्ने तयारी गरिरहेका छौं। यस कदमले महानगर यातायातलाई सार्वजनिक यातायात क्षेत्रको पहिलो पब्लिक लिमिटेड कम्पनी बनाउनेछ। यस ऐतिहासिक उपलब्धिले नेपाली यातायात क्षेत्रमा नयाँ आयाम थप्नेछ।’ उनले भने
सिप्रदी ट्रेडिङले यस साझेदारीले भविष्यमा अझ ठूलो योगदान दिने विश्वास व्यक्त गरेको छ।