ज्यान मार्ने कसुरमा फरार रहेका नुवाकोट ककनीका लामासहित दुई जना पक्राउ
काठमाडौ,माघ ११ । प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार २०८१ कात्तिक ११ गते बिहान ११ः३५ को समयमा काठमाडौँ महानगरपालिका वडा नम्बर ३ लाजिम्पाटस्थित नोभा अस्पतालको पार्किङमा विक्रम लामालाई ज्यान मार्ने उद्देश्यले फलामको रड प्रहार गरी गम्भिर घाइते बनाइ उनीहरु फरार रहेका थिए।
उक्त घटनाका मुख्य अभियुक्त ३४ वर्षीय अजय लामा र ३२ वर्षीय दिपक बरामुलाई प्रहरी टोलीले यही माघ ९ गते कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ।
स्थायी घर नुवाकोट, ककनी गाउँपालिका–४ भएका लामा र स्थायी घर गोरखाको सुलिकोट गाउँपालिका–७ भएका बरामु हाल काठमाडौं बस्दै आएका थिए।
यसैगरी, क्रोएसिया पठाउने भनी पाँच लाख ७५ हजार रुपियाँ ठगी गर्ने ४० वर्षीय लालिमाया दर्लामी पक्राउ परेका छन् ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी दर्लामी सम्कर्पविहीन बनेका थिए।
स्थायी घर काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका २ रहेका दर्लामी हाल काठमाडौँ बस्दै आएका थिए। प्रहरीले उनलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाएको छ ।