प्रधानमन्त्रीबाट बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको भर्चुअलरुपमा उद्घाटन
पाल्पा,माघ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धबाबा सुरुङ्गमार्ग समयमै’ ‘ब्रेक थ्रु’ भएको र बाँकी काम पनि समयमै सम्पन्न हुने बताए ।
शुक्रबार बगनासकाली गाउँपालिकाको नवनिर्मित अत्याधुनिक प्रशासकीय भवनको भर्चुअल माध्यमबाट उद्घाटन गर्न प्रधानमन्त्री ओली सुरुङ्गमार्ग निर्माणले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने बताए ।
प्रधानमन्त्री ओलीले बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटनका क्रममा पाल्पा घरेलु तथा कुटिर उद्योगको लागि प्रख्यात रहेकाले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन घरेलु कुटिर उद्योग र कृषिमा जोडदिन स्थानीय सरकारलाई निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले “यस प्रशासकीय भवनले एउटा प्रशासकीय भवन नयाँ बन्यो मात्रै होइन जनतालाई नयाँ अनुभूति हुने गरि विकासका लागि मार्गदर्शक हुने सेवा प्रवाह अगाडी बढोस् ” भन्ने शुभकामना ब्यक्त गरे । प्रधानमन्त्रीले पाल्पा राष्ट्रियता जोगाउने सन्दर्भमा पनि अगाडी रहेकाले त्यो भावना अटल रहोस् भन्दै शुभकामना दिए ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल सरकारका उप प्रधान तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहले गाउँपालिकाले दिने सेवा प्रवाह सहज हुने विश्वास ब्यक्त गरे । उनले संविधानको एकात्मक व्यवस्था अन्त्य गरि संधात्मक व्यवस्था कार्यान्वयन गर्न सबै स्थानीय तहलाई सुविधा सम्पन्न गराउनको लागि ६०/४० को अवधारणा अनुसार कार्यान्वयन गरेको बताए ।