कांग्रेस सांसद गुरुङको मुद्दा पुनः सुनुवाइ हुने



काठमाडौँ, माघ ११। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेशमा पुनः सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले गुरुङको निलम्बन फुकुवा गर्ने संयुक्त इजलासको आदेश पुनरवलोकन अनुमति प्रदान गरेको छ । पुनरवलोकनको निवेदनमा निस्सा प्रदान गरेसँगै मुद्दा पुनः सुनुवाइ हुने भएको हो । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भई जरिबाना तोकिएको गुरुङलाई सर्वोच्चको संयुक्त इजलासले निलम्बन नहुने आदेश गरेको थियो ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले निलम्बन फुकुवाको आदेश प्रतिपादित नजिरविपरीत भएको आदेश गरेको छ । सर्वोच्चबाट प्रतिपादित सिद्धान्तविपरीत यसअघि फैसला भएको भन्दै पूर्ण इजलासले मुद्दा पुनः हेर्ने अनुमति दिएको हो । भृकुटीमण्डको फनपार्क भाडा प्रकरणमा विशेष अदालतले २०७९ फागुनमा गुरुङलाई एक करोड २१ लाख ८४ हजार रुपियाँ जरिबानाको फैसला गरेको थियो । अदालतले जरिबाना गरिसकेपछि रिटमार्फत सर्वोच्चले २०८० चैत १६ गते निलम्बन फुकुवाको आदेश गरेको थियो ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासको उक्त आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सङ्घीय संसद् सचिवालयका तर्फबाट पुनरवलोकन निवेदन दर्ता भएको थियो । साउनमा दर्ता निवेदनमा सर्वोच्चले बिहीबार सो आदेश गरेको हो । अब सुरु फैसला गर्ने र पुनः सुनुवाइको अनुमति प्रदान गर्नेबाहेकका न्यायाधीशको इजलासमा मुद्दामा पुनः सुनुवाइ हुने छ । 

अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै अवस्थामा गुरुङ मनाङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । भ्रष्टाचार निवारण ऐनको व्यवस्था अनुसार निर्वाचित भए पनि उनी निलम्बनमा थिए । सर्वोच्चको आदेशपछि उनी सभाको कामकारबाहीमा सहभागी भएका थिए । 

प्रतिक्रिया दिनुहोस्