बढ्यो प्रशोधित खानेतेलको निर्यात, भारतले आयातमा भन्सार शुल्क बढाएसँगै नेपाललाई फाइदा



वीरगञ्ज,माघ ११  । भारतले अन्य देशबाट आयातित कच्चा भटमासको तेल, सूर्यमुखी तेल र पाम तेलमा भन्सार आयातमा भन्सार शुल्क बढाएसँगै शून्य भन्सारको सुविधा पाएको नेपालबाट यी वस्तुको निकासी ह्वात्तै बढेको छ । यी वस्तुको प्रशोधन गरी भारत निर्यात भएको हो । चालू आर्थिक वर्षको प्रथम ६ महीनामा यो तीन वस्तुको निर्यात मात्रै २५ अर्ब रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांक छ, जुन कुल निर्यातको २५ प्रतिशतभन्दा बढी हो । उक्त अवधिमा नेपालको कुल वस्तु निर्यात ९८ अर्ब ७८ करोड रुपैयाँ बराबर पुगेको छ ।

भारतले सन् २०२४ को सेप्टेम्बरको शुरूमै कच्चा भटमास, सूर्यमुखी तेल र पाम तेलमा लाग्दै आएको भन्सारदर शून्यबाट बढाएर २० प्रतिशत पुर्‍याएको थियो । तर, अन्य करसहित कच्चा तेल आयातमा लाग्ने जम्मा करको दर २७ दशमलव ५ प्रतिशत हुने भाबरतीय सरकारले बताएको छ । नेपाल–भारतबीच भएको व्यापार सन्धिअनुसार नेपालले शून्य भन्सारमा भारतमा सामान निर्यात गर्न पाउँछ । त्यसैको लाभ लिँदै नेपाली व्यापारीले यी तेल प्रशोधन गरी भारत निर्यात बढाएका हुन् । चालू आवको पहिलो ६ महीनामा भटमासको तेल सबैभन्दा धेरै १८ अर्ब ९१ करोड बराबरको निर्यात भएको छ । सूर्यमुखी तेल ४ अर्ब ९८ करोड बराबर भएको छ र बाँकी पाम तेलको निर्यात भएको छ ।

वीरगञ्ज नाकाबाट साउनदेखि पुससम्म करीब १२ अर्ब रुपैयाँको भटमासको प्रशोधित तेल निकासी भएको छ । यो नाकाबाट ११ अर्ब ९९ करोड १८ लाख रुपैयाँबराबरको यस्तो तेल निर्यात भएको वीरगञ्ज भन्सारका प्रमुख प्रशासक दीपक लामिछानेले बताए । भारततर्फको निकासी बढेसँगै भटमासको तेल निर्यात सूचीको अग्रस्थानमा पुगेको छ । प्रशोधित तेल निर्यात हुने मुख्य नाका वीरगञ्जको आईसीपी भन्सारको तथ्यांकले यस्तो देखाएको हो । बारा–पर्साका एक दर्जनभन्दा बढी उद्योगले यो नाकाबाट अर्धप्रशोधित र प्रशोधित खानेतेलको तेल निर्यात गर्छन् ।

भारतले अन्य देशबाट आयात गरिने कच्चा भटमासको तेल, सूर्यमुखी तेल र पाम तेलमा भन्सार बढाएपछि शून्य भन्सारको सुविधाका कारण नेपालबाट प्रशोधित भटमास र सूर्यमुखी तेलको निर्यात ह्वात्तै बढेको छ । भन्सार बढाए पनि पाम तेलको निर्यातमा भने ह्रास आएको भन्सार विभागले बताएको छ । वीरगञ्ज आईसीपी भन्सारले सार्वजनिक गरेको निर्यात मूल्यका आधारमा मुख्य १० वस्तुको विवरणमा भटमासको प्रशोधित तेल १ नम्बरमा परेको छ । गत आव २०८०/८१ को समीक्षा अवधिमा यो वस्तुको निकासी मूल्य ३ करोड ११ लाख रुपैयाँमात्र थियो । चालू आवको ६ महीनामा सूर्यमुखीको प्रशोधित तेलको निर्यात पनि उल्लेख्य परिमाणले बढेको छ । वीरगञ्ज नाकाबाट मात्रै बितेका ६ महीनामा ३ अर्ब २१ करोड ९१ लाख रुपैयाँबराबरको सूर्यमुखीको प्रशोधित तेल भारत निकासी भएको तथ्यांक भन्सारसँग छ । गत आवमा यो मूल्य करीब १० करोड बराबर मात्रै थियो । 

पछिल्लो समयमा भारतले ती तेलको आयातमा सीमाशुल्क बढाएसँगै नेपालबाट भारतमा प्रशोधित खानेतेलको निर्यात सहज भएको उद्योगी सुरेश रुंगटाले बताएका छन् । स्वदेशी उद्योगले तेस्रो मुलुकबाट अर्धप्रशोधित तेल भित्त्याएर दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा)को शून्य भन्सार सहुलियतमा प्रशोधित तेल निकासी गर्दै आएका छन् । स्वदेशका उद्योगले अर्धप्रशोधित तेलको आयातमा १० प्रतिशत भन्सार महशुल र मूल्यअभिवृद्धि कर तिर्छन् । भारत निकासी गरेपछि भन्सारमा तिरेको सबै रकम फिर्ता पाउँछन् । भारतमा ५ प्रतिशत वस्तु तथा सेवा करमात्रै तिरेर निकासी गर्न पाउँछन् । यसरी निकासी गर्दा त्यहाँ प्रतिस्पर्धा सहज हुने उद्यमीको भनाइ छ । 

यही सहुलियत देखेर विगतमा यस्ता उद्योगमा लगानी बढेको थियो । नेपालका २५ ओटा प्रशोधित तेल उद्योगको लगानी १५ अर्ब रुपैयाँको हाराहारीमा पुगिसकेको अनुमान उद्यमी निखिल चाचानको छ । स्वदेशी उद्योगीले युक्रेन, इन्डोनेसिया र मलेसियाबाट अर्धप्रशोधित सूर्यमुखी, भटमास, पाम आयल भित्त्याएर प्रशोधन गरी भारततर्फ निकासी गर्दै आएका छन् । भारतले यसअघि आन्तरिक बजारमा तेलको मूल्य नियन्त्रण गर्न आयातमा शुल्क घटाएको थियो । भटमास र सूर्यमुखी तेलको ८० हजार टन परिमाणमा यस्तो शुल्क शूल्य गरिएको थियो । 

अन्य आयातमा समेत शुल्क घटाएपछि नेपालबाट निर्यात करीब ठप्पजस्तै थियो । सञ्चालन खर्च जुटाउनकै लागि घाटामै भए पनि निकासी भइरहेकाले झिनो परिमाणमा गइरहेको थियो । निकासी सहज भएपछि अब भने सुधार आएको उद्योगीहरूले बताएका छन् । मूलत: तेस्रो देशबाट अप्रशोधित तेल ल्याएर नेपालमा प्रशोधनपश्चात् भारत पठाउने गरिएको छ । चालू आवको ६ महीनामा १३ अर्ब ५६ करोड रुपैयाँ बराबरको कच्चा सूर्यमुखी तेलको आयातभएको छ ।  

प्रतिक्रिया दिनुहोस्