नुवाकोटको लिखुमा ६८६ जनालाई पाठेघर मुखको क्यान्सर विरुद्ध खोप लगाइने
नुवाकोट,माघ १० । जिल्लाको लिखु गाउँपालिकाका ६८६ जना किशोरीलाई (पाठेघरको मुखको क्यान्सर विरुद्ध) एच.पि.भी. खोप लगाइने भएको छ । राष्ट्रव्यापी रूपमा सञ्चालन हुने एच.पि.भी. खोप अभियान माघ २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने लिखु गाउँपालिकाका स्वास्थ्य प्रमुख भिमबहादुर रोक्काले बताए ।
उक्त खोप ६ देखि १० कक्षासम्मका र विद्यालय भन्दा बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लगाउने जनाएको छ । स्वास्थ्य शाखा प्रमुख रोक्काले ६ देखि १० कक्षाका विद्यालयमा भएका ६८३ र १० देखि १४ वर्ष विद्यालय बाहिर रहेका ३ जना समेत गरी ६८६ किशोरीलाई उक्त खोप लगाउने कार्यक्रम रहेको बताए ।
महिलाको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध लगाइने उक्त खोप कार्यक्रममा लक्षित समुहका किशोरी नछुटुन भन्ने उद्धेश्यले केन्द्रदेखि वडा तहसम्म खोप समन्वय समिति बनाएर तयारीमा जुटेको उनले जानकारी दिए । उक्त खोप अभियानलाई सफल बनाउन लिखु गाउँपालिका खोप समन्वय समितिले अभिमुखीकरण कार्यक्रमको आयोजना गरी खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारवाला सबैलाई आव्हान गरेको छ । लिखुमा खोपका लागि ८ वटा विद्यालय खोप केन्द्र र ४ वटा स्वास्थ्य केन्द्र निर्धारण गरिएको छ ।