थाइल्याण्डमा पनि समलैंगिक विवाहलाई मान्यता



काठमाडौँ,माघ १० । अब थाइल्याण्डले पनि समलैंगिक विवाहलाई मान्यता दिने भएको छ । विहीबारबाट त्यहाँ समलैंगिक विवाह दर्ता गर्न थालिएको हो । यस प्रकारको कानूनी मान्यता प्रदान गर्नेमा थाइल्याण्ड पुरै एसियाको दोस्रो सार्वभौम मुलुक हो ।

चीनको एक स्वशाशित क्षेत्र मानिने ताइवानले साढे ५ वर्ष अघि समलैंगिक विवाहलाई मान्यता दिएको थियो । तर सबैभन्दा पहिले यस प्रकारको कानूनी मान्यता प्रदान गर्ने एसियाको कुनै सार्वभौम राष्ट्र चाहीँ नेपाल हो ।

एसियाली देशहरुले यस प्रकारको कानूनी मान्यता दिएका थिएनन् । ताइवानमा कानून बने पनि मूलभूमि चीनमा अहिलेसम्म यस्तो सुविधा छैन ।

नेपालको सर्वोच्च न्यायालयले समलिङ्गी विवाह दर्ता गर्न अन्तरिम आदेश दिएपछि २०८० मंसिर १३ मा लमजुङको दोर्दी गाउँपालिकाले पहिलो पल्ट यस प्रकारको विवाह दर्ता गरेको थियो । त्यसबेला पारलैङ्गिक महिला ९जसलाई कानुनले पुरुषका रूपमा चिन्दछ० माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह दर्ता भएको थियो ।

थाइल्याण्डमा समलैंगिक विवाहलाई मान्यता दिने कानून विहीबारबाट कार्यान्वयनमा आउने भएसँगै त्यहाँ १८० जोडिहरु विवाह दर्ता गर्ने लाममा बसेका छन् । संसारमा २०० देशमध्ये ३५–३६ वटा देशले मात्रै यस प्रकारको कानूनी मान्यता दिएका छन् ।

एसियामा यस्तो कानून बनाउने चलन थिएन । ताइवान र नेपाल यसको अपवाद थिए । यद्यपि, नेपालमै पनि यस प्रकारको कानूनी मान्यता दिने कोसिस भने गणतन्त्र घोषणा हुनुभन्दा अघि नै सुरु भएको थियो । २०६४ सालमा सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने सम्बन्धमा अध्ययन गर्न समिति गठन गर्नू भनेर सरकारलाई आदेश दिएको थियो ।

अन्तरिम संविधान २०६३ कै मातहत रहेर तत्कालिन न्यायाधीशद्वय बलराम केसी र पवनकुमार ओझाले यस प्रकारको आदेश जारी गरेका थिए ।

त्यसपछि गठन भएको समितिले ‘समानताको सिद्धान्तको आधारमा समलिङ्गी विवाहलाई कानूनी मान्यता गरिनु उपयुक्त देखिएको’ राय सहित प्रतिवेदन बुझाएको थियो । तर त्यसपछि पनि यस प्रकारको कानूनी सुधार भइसकेको थिएन ।

नेपालको मुलुकी देवानी संहिताले पुरुष र महिलाबीचको विवाहलाई मात्रै मान्यता दिएको थियो । तर सर्वोच्च अदालतले ‘संसदले कानून संशोधन नगरेसम्म गैर–परम्परागत विवाहहरुको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने व्यवस्था गर्नू’ भनेर आदेश दियो ।

आजभन्दा झण्डै २४ वर्ष अघि सन् २००१ मा नेदरल्याण्ड्सले यस पहिलो पल्ट समलिङ्गी विवाहलाई कानूनी मान्यता दिएको थियो । त्यसपछि बेल्जियम, स्पेन र क्यानडाले यो कानून अंगिकार गरे । अहिलेसम्म नर्वे, स्वीडेन, पोर्चुगल, आइसल्याण्ड, डेनमार्क, फ्रान्स, युके, लक्जेम्बर्ग, आयरल्याण्ड, फिनल्याण्ड, जर्मनी, माल्टा, अस्ट्रिया र स्विजरल्याण्डजस्ता युरोपेली देशहरुले यस्तो कानून ल्याएका छन् ।

समलिङ्गी विवाहलाई संसारका धेरै देशमा एक प्रकारले ‘युरोपेली एजेण्डा’ को रुपमा पनि लिने गरिएको छ । अमेरिकाले १० वर्ष अघि यो कानून लागू गर्यो । मेक्सिको, अस्ट्रेलिया, न्यूजिल्याण्डमा पनि यस्तो कानूनी मान्यता छ ।

दक्षिण अफ्रिकाले सन् २००६ मै यस्तो कानून स्वीकार गरेको थियो । यसबाहेक केही ल्याटिन अमेरिकी देशहरु अर्जेण्टिना, ब्राजिल, उरुग्वे, चिली, कोलम्बिया र इक्वेडरले पनि समलिङ्गी विवाहलाई अनुमति दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्