पूर्व गृहमन्त्री लामिछानेको रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु



रुपन्देही,माघ १० । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रबि लामिछानेको रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । बुधबार श्रीमती र अधिवक्ताको हाजिर जमानीमा छुटेका लामिछानेको आज थुनछेक बहस हुँदै छ ।रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा मुद्दाको बहस हुँदै छ ।

रुपन्देही जिल्ला न्यायधिबक्ता प्रेम पौडेल, सह-न्यायधिबक्ता गोकर्ण घिमिरे  बसन्त पोख्रेलले बहस गर्ने र महान्यायाधिवक्ता कार्यालयले उच्च अदालत तुलसीपुर, बुटवलबाट वकिल खटाएको अवस्थामा त्यहाँबाट पनि वकिल बहस गर्ने बुझिएको छ ।

त्यसैगरी रबि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र वरिष्ठ अधिवक्ता नारायण कँडेल, बुटवल बारका अध्यक्ष गोविन्द मरासिनी लगायतले बहस गर्ने रास्वपा प्रदेश सदस्य बिनोद खरेलले बताए । अदालतमा लामिछाने उपस्थित भएपछि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा थुनछेक बहस सुरु भएको  जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले जानकारी दिए ।

दुवै तर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि इजलासबाट पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छोड्ने वा साधारण तारेखमा राख्ने आदेश आउनेछ। सुप्रिप सहकारीमा जम्मा ४२ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्