सहकारी ठगी : सहकारी विभागमा उजुरीको चाङ, ११८ वटा सहकारीबाट झन्डै साढे चार अर्ब ठगी
काठमाडौं,माघ १० । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना वचतकर्ताले सहकारी संस्थाहरुबाट ४ अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका छन् ।
महानगरपालिकाले अनुसन्धान र कारवाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले यो माग दावी गरेका हुन् । मंगलबार संघीय सरकार अन्तर्गतको सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसँग महानगरपालिकाको सहकारी विभाग प्रमुख नमराज ढकालले सहकारी क्षेत्रका वर्तमान सवाल र समाधानका लागि सहकार्यका विषयमा कुरा गर्दै यस सम्बन्धी जानकारी दिएका हुन् ।
विभाग प्रमुख ढकालका अनुसार महानगरपालिका कार्यक्षेत्र भएका १ हजार ९१७ वटा सहकारी संस्था छन् । यीमध्ये सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा १ हजार ७४४ संस्था दर्ता भएका छन् । तर, वार्षिक प्रतिवेदन बुझाउनेको संख्या भने ८३८ मात्र रहेको छ ।
संघीय सहकारी विभाग मातहतका १४७ वटा सहकारी संस्था छन् । यस्तै वागमती प्रदेश कार्य क्षेत्र भएका सहकारीको संख्या ३ हजार २ सय ७ रहेको उनले जानकारी दिए ।
सहकारीहरुको वित्तीय व्यवस्थापनका लागि प्रयोग हुने सफ्टवेयरको न्युनतम मापदण्ड तोकेर योग्य र भरपर्दा प्रणालीलाई महानगरपालिकाले सूचीकरण गर्नु पर्छ । विश्वसनीय सफ्टवेयरको प्रयोगले पनि वित्तीय विकृतिका धेरै जोखिम नियन्त्रण गर्न सकिन्छ । छलफलका क्रममा सुझाव प्राप्त भएको महानगरपालिकाले जनाएको छ ।
छलफलमा संकटग्रस्त सहकारीको व्यवस्थापन, कारवाही र अनुसन्धानका लागि पठाइएका सहकारी व्यवस्थापन, निष्क्रिय सहकारी व्यवस्थापन, सहकारीका असल र सफल अभ्यासको प्रवर्धनलगायत विषयमा कुराकानी भएको थियो ।