भारतको महाराष्ट्रमा रेल दुर्घटना, १२ जनाको ज्यान गयो



नयाँ दिल्ली, माघ ९ । भारतको महाराष्ट्रको जलगाउँ जिल्लामा बुधबार साँझ एक भयावह रेल दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ। सातजनाको अस्पतालमा उपचार जारी छ । आगलागीको हल्लाका कारण केही यात्रु रेलबाट ओर्लेर ट्र्याकमा उत्रिए र विपरीत दिशाबाट आइरहेको अर्को रेलले ठक्कर दिँदा सो दुर्घटना भएको हो । 

पुष्पक एक्सप्रेस साँझ करिब ५ बजे अनियमित रूपमा रोकिएपछि यो दुर्घटना भएको हो । आगो लागेको हल्लाले त्रसित यात्रुहरूले रेलको चेन तानेर रेल रोकेका थिए। यात्रुहरू ट्र्याकमा उत्रिएपछि उनीहरूलाई कर्नाटक एक्सप्रेसले ठक्कर दिएको हो।

टाइम्स अफ इन्डियाका अनुसार, दुर्घटना माहीजी र पार्धाडे स्टेशनको बीचमा भएको थियो, जुन मुम्बईदेखि करिब ४०० किलोमिटर टाढा पचोराको नजिक पर्छ। लखनउ-मुम्बई चल्ने पुष्पक एक्सप्रेस अचानक रोकिएपछि यात्रुहरूले रेलबाट हाम फालेका थिए।

रेलवे अधिकारीहरूले बताएअनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पुष्पक एक्सप्रेसको एउटा बोगीमा ‘हट एक्सल’ वा ‘ब्रेक बाइन्डिङ’ (ब्रेक जाम) का कारण समस्या उत्पन्न भएको थियो। यात्रुहरूमा त्रास फैलिएपछि चेन तानिएको र केहीले रेलबाट हाम फालेको पाइएको छ।

रेलवे विभागले घटनाको गहिरो अनुसन्धान सुरु गरिसकेको छ। “यात्रुहरूको ज्यान गुमाउनु दुर्भाग्यपूर्ण छ। यस्ता घटनाबाट पाठ सिकेर भविष्यमा यसप्रकारका दुर्घटना रोक्न हामी प्रतिबद्ध छौं,” एक रेलवे अधिकारीले बताए।

घटनास्थलमा स्थानीय प्रशासन र आपतकालीन टोलीले उद्धार कार्य सम्पन्न गरेका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। रेलवेले मृतक परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।

– टाइम्स अफ इन्डिया 

प्रतिक्रिया दिनुहोस्