रित्तो गाग्री लिएर आएका साम्पाङलाई प्रधानमन्त्री ओलीले रित्तै फर्काइदिए
काठमाडौ,माघ ८ । धरान उपमहानरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) को प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने प्रयास असफल भएको छ । धराने जनताको खानेपानीको समस्या बोकेर काठमाडौं आइपुगेका साम्पाङलाई प्रधानमन्त्रीले भेट नै नदिएका हुन् । मंगलबार साम्पाङ रित्तो गाग्री लिएर सिंहदरबार छिर्न खोजेका थिए ।
साम्पाङले ल्याएको रित्तो गाग्री भने प्रहरीले सिंहदरबारभित्र लैजान दिएन । रित्तो गाग्री प्रहरीलाई बुझाएर सिंहदरबार छिरेका साम्पाङले अर्थमन्त्री विष्णु पौडेल र खानेपानी मन्त्री प्रदीप यादवलाई भेटे । उनले मन्त्रीद्वयलाई धरानको खानेपानी समस्या समाधानका लागि आर्थिक स्रोत सुनिश्चितताको लागि आग्रह गरेका थिए ।
मन्त्रीद्वयबाट आश्वासन पाएका मेयर साम्पाङ प्रधानमन्त्री ओलीलाई भेटेर धराने जनताको तर्फबाट पत्र बुझाउन चाहन्थे । तर, ओलीले भेट्ने समय नै नदिएको उनीनिकट स्रोतले बतायो ।
प्रधानमन्त्री ओलीलाई भेट्नका लागि उनका स्वकीय सचिवहरुलाई पटक–पटक फोन गर्दा पनि समय नरहेको जानकारी आएको बताइएको छ । प्रधानमन्त्री ओलीलाई धराने जनताको तर्फबाट रित्तो गाग्री उपहार लिएर सिंहदरबार आइपुगेका साम्पाङलाई प्रधानमन्त्री ओलीले पनि भेट नै नदिई रित्तै फर्काइदिएका छन् ।