पचास लाख धरौटी बुझाएर छविलाल जोशी रिहा



काठमाडौ,माघ ८ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक छविलाल जोशी रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जोशी रू ५० लाख बैंक ग्यारेन्टी बुझाएर आइतबार रिहा भएको जानकारी दिए । यसअघि जोशीलाई कास्की जिल्ला अदालतले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रू ८८ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की अदालतबाट रू ६५ लाख र काठमाडौँ जिल्ला अदालतबाट रू ६० लाख बैंक ग्यारेन्टी बुझाएर छुटिसकेका छन् ।

उनीहरुविरुद्ध अझै रुपन्देही, चितवन र पर्सामा पनि सहरकारी ठगी कसुरमा जाहेरी दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्