नेपाल तामाङ घेदुङ नुवाकोट शाखाले बुझायो प्रशासनमा ज्ञापनपत्र



नुवाकोट,माघ ७ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति नुवाकोटले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्ञापनपत्र बुझाएको छ ।

तामाङ समुदायको परम्परागत बाजा अन्य जातिको भनी पाठ्यपुस्तकमा उल्लेख गरिएको भन्दै घेदुङले ज्ञापनपत्र बुझाएको हो ।

तामाङ घेदुङ जिल्ला समन्वय समिति नुवाकोटका अध्यक्ष विर बहादुर तामाङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ-‘ तामाङ जातिको इतिहास बोकेको सांस्कृतिक बाजा टुड्ना र डम्फु हो भन्ने सवैमा जानकारी हुँदाहुँदै नियोजित रूपमा षडयन्त्रपूर्वक अन्य समुदायको भनी राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा दर्ज हुने गरी कक्षा ९ को अनिवार्य विषय नेपालीमा नीतिगत रूपमा भविष्यका कर्णधारका रूपमा रहेका वालवालिकालाई पठन- पाठन गराईदा कति असर पर्छ भन्ने हेक्का नराखी तामाङ जातीको संस्कृति नै मेटाउने गरी तामाङ जातीले प्रयोग नगरेको वाजा समावेश गरिएको र अन्य जातीको वाजा समावेस गरी हाम्रो मौलिक बाजा हटाईएको प्रति घोर भर्त्सना गर्दछौं।’

ज्ञापनपत्र जस्ताको तस्तै यहाँ प्रस्तुत गरिन्छ :-

श्री मान् प्रमुख जिल्ला अधिकारी ज्यू, जिल्ला प्रशासन कार्यालय,

विदुर, नुवाकोट ।

         विषयः ज्ञापन पत्र ।

प्रस्तुत विषयमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानो ठिमी, भक्तपुरबाट प्रकाशित कक्षा ९ को नेपाली पाठ्यपुस्तकको पाठ १४ पृष्ठ नं. १५० मा मगर जातिका मादल, डम्फु र मुर्चुङ्गा बाजा नेपालका अमुल्य निधि हुन्। त्यस्तै तामाङ जातिका ग्यापुङ, सरुङ्गे, सिनडुङ बाजा राई किरातको बाँसतुम्वा, टुङ्ना र विनायो याजा लेखिएकोमा हाम्रो संस्थाको गम्भिर ध्यानाकर्षण भएको छ।

यस संस्था विभिन्न भौगोलिक कठिनाईका वावजुद गरिवी, अशिक्षा र अभावमा पिल्सिएर रहेका तमाम तामाङ समुदायको हक, अधिकार, भाषा, लिपी, साहित्य, कला, धर्म, संस्कृती, भेषभुषा, ईतिहास आदिको संरक्षण, प्रवर्द्धन, उत्थान र विकासका लागि राष्ट्रिय स्तरको साझा सामाजिक संस्थाको रूपमा नेपाल तामाङ घेदुङ केन्द्रीय कार्यालय मातहत जिल्ला समन्वय समितिको कार्यालय, विदुर, नुवाकोट क्रियासिल रहेको अनुरोध छ।

तामाङ जातिको इतिहास बोकेको सांस्कृतिक बाजा टुड्ना र डम्फु हो भन्ने सवैमा जानकारी हुँदाहुँदै नियोजित रूपमा षडयन्त्रपूर्वक अन्य समुदायको भनी राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा दर्ज हुने गरी कक्षा ९ को अनिवार्य विषय नेपालीमा नीतिगत रूपमा भविष्यका कर्णधारका रूपमा रहेका वालवालिकालाई पठन- पाठन गराईदा कति असर पर्छ भन्ने हेक्का नराखी तामाङ जातीको संस्कृति नै मेटाउने गरी तामाङ जातीले प्रयोग नगरेको वाजा समावेश गरिएको र अन्य जातीको वाजा समावेस गरी हाम्रो मौलिक बाजा हटाईएको प्रति घोर भर्त्सना गर्दछौं।

अतः उक्त पुस्तकमा तुरुन्त सच्याई तामाङ जातीको वाजा टुङ्गा र डम्फु लेखि मात्र पाठ्यपुस्तक पुनः प्रकाशन गरी अध्ययन गर्ने गराउने वातावरण गराउन प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानो ठिमी, भक्तपुरलाई ज्ञापन पत्र पेश गर्दछौं। अन्यथा राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा बसोवास गर्ने तमाम तामाङ समुदायहरू आफ्नो अधिकार सुरक्षाको लागि जुनसुकै परिस्थितिको सामना गर्नेछ, यसलाई आन्दोलनको रूपमा अगाडी लैजान तयार रहेको व्यहोरा जानकारी गराउदछौ।

                         (विर बहादुर तामाङ) अध्यक्ष

प्रतिक्रिया दिनुहोस्