संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस गर्ने सरकारको निर्णय
काठमाडौ,माघ ७ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते शुक्रबार दिनको ३ बजे बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
यस्तै आजको मन्त्रिपरिषद् बैठकमा शिक्षक सेवालाई निवृत्तिभरण ऐन कोषमा समावेश गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले जानकारी दिइन ।
शिक्षा मन्त्री भट्टराईले सरकारद्वारा जारी अध्यादेशमा शिक्षक सेवालाई निवृत्तिभरण कोषमा समावेश गर्ने भन्ने सम्बन्धमा केही शिक्षकहरूको अन्यौलता देखिएकाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालदेखिका शिक्षकहरू मात्र शिक्षक सेवा ऐन अन्तर्गत निवृत्तिभरणमा समावेश हुने स्पष्ट पारेको बताइन् ।
२०८१ साल अघिका शिक्षकहरूको हकमा भने अघिल्लो व्यवस्था अनुसार नै निवृत्तिभरण प्राप्त हुने शिक्षा मन्त्री भट्टराईले उल्लेख गरिन ।