मलेसियाका जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकप: नेपालको दोस्रो हार
काठमाडौ,माघ ७ । नेपालले मलेसियाका जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा दोस्रो हार खेपेको छ । समूह ‘डी’ अन्तर्गत मलेसियाको युकेएम ओभल मैदानमा सोमबार भएको दोस्रो खेलमा नेपालले स्कटल्यान्डसँग एक विकेटले पराजित भयो ।
जितको संघारमा पुगेको नेपाल अन्तिममा सम्हालिन सकेन । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो हारसँगै नेपालको अगाडिको यात्रा कमजोर बनेको छ ।
नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ । जितका लागि नेपालले दिएको ७४ रनको लक्ष्य १८.४ ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेटको क्षतिमा ७३ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन । यस्तै सावित्री धामीले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
नेपालको ब्याटिङ कमजोर बनाउन बलिङमा स्कटल्यान्डकी मैसि म्याकिरा एक्लैले पाँच विकेट लिइन । अमि बलडाइ र नइमा शेखले दुई दुई तथा क्रिस्टी म्यायाकोलले एक विकेट लिए ।