पर्यटनमा करीब दुई तिहाई विदेशी लगानी प्रतिबद्धता
काठमाडौं,माघ ७ । नेपालको पर्यटन क्षेत्र वैदेशिक लगानीकर्ताका लागि आकर्षणको केन्द्र भएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महीनामा उद्योग विभागमा दर्ता भएका विदेशी लगानीका उद्योगको लगानी प्रतिबद्धतामध्ये करीब दुई तिहाई पर्यटन क्षेत्रमै छ ।
उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्ममा मुलुकको पर्यटन क्षेत्रमा १६ अर्ब ९६ करोड ५५ लाख रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ । उक्त अवधिमा कुल २५ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता प्राप्त भएकोमा पर्यटन क्षेत्रमा ६५ दशमलव ८१ प्रतिशत रहेको छ ।
न्यूनतम २ करोडदेखि ६ अर्ब रुपैयाँसम्मको लगानी प्रतिबद्धता स्वीकृत गर्ने उद्योग विभागले पुससम्ममा पर्यटन क्षेत्रका विभिन्न विधामा गरेर कुल १५७ परियोजनामा विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेको हो ।
गत आर्थिक वर्ष २०८०/८१ को ६ महीनामा पर्यटनमूलक व्यवसायका परियोजनाको संख्या १०३ रहेकोमा चालू आर्थिक वर्षको यो अवधिमा यस्तो संख्या पनि बढेको हो ।
विभागको वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक प्रशान्त बोहराले होटेल परियोजनामा वढी विदेशी लगानी प्रतिबद्धता आएको बताए । ‘रेस्टुराँहरूमा पनि लगानी प्रतिबद्धता धेरै आउने गरेको छ,’ उनले भने ।
तारेस्तरका होटेलमा आउने विदेशी लगानी प्रतिबद्धता वास्तविक लगानीमा रूपान्तरण हुन भने २/३ वर्ष लाग्ने बोहराले जानकारी दिए ।
हालै फ्रान्सको अन्तरराष्ट्रिय चेन ब्राण्ड ‘मक्र्याेर’ भित्त्याएर होटेल सेवा शुरू गरेका एबी होल्डिङ्सका अध्यक्ष देशबन्धु बस्नेतले मुलुकको पर्यटन क्षेत्रमा अझै ठूलो लगानी आवश्यक रहेको र यसरी लगानी प्रतिबद्धता आउनु सकारात्मक रहेको बताए । ‘पर्यटनमा ठूलो लगानीको सम्भावना र अवसर छ,’ बस्नेतले भने, ‘हामीले डेस्टिनेसन इन्भेष्टमेन्टका लागि पहल गरिरहेका छौं ।’
औद्योगिक व्यवसाय ऐन–२०७६ अनुसार पर्यटन उद्योगअन्तर्गत विदेशी लगानीकर्ताका लागि पर्यटन आवास, मोटेल, रिसोर्ट, बार तथा रेष्टुराँ, ट्राभल एजेन्सी, टुर अप्रेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज, स्पामा लगानी गर्न खुला गरिएको छ ।
यस्तै, सोही ऐनले साहसिक पर्यटनका ट्रेकिङ, स्किाइङ, प्याराग्लाइडिङ, र्याफ्टिङ, हट एयर बेलुनिङ, क्यानोनिङ, प्यारासेलिङ, हिमाल आरोहण, स्काइवाकिङ जस्ता क्षेत्रमा पनि विदेशी लगानी खुला गरिएको छ । सो ऐनअनुसार केबलकार निर्माण र सञ्चालन, गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, ग्रामीण पर्यटन, होमस्टे, कृति पर्यटन, मनोरञ्जन तथा वाटर पार्कलगायत क्षेत्रलाई विदेशी लगानी गर्न सकिने गरी पर्यटन उद्योगअन्तर्गत राखिएको छ ।
उद्योग विभागको तथ्यांकअनुसार यो ६ महीनाको अवधिमा वैदेशिक लगानी प्रतिबद्धता गतवर्षको सोही अवधिको भन्दा बढेको छ । गत आर्थिक वर्षको पहिलो ६ महीनामा नेपालले २२६ परियोजनामा २२ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेको थियो ।