अर्थमन्त्रीको दाबी: आर्थिक सूचकहरूमा सकारात्मक संकेत देखियो



काठमाडौं,माघ ७ । अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्ष (आव)को ६ महीनामा आर्थिक सूचकहरूमा सकारात्मक संकेत देखिएको दाबी गरेका छन्। आइतवार अर्थ मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनले अघिल्लो वर्षको सोही अवधिको तुलनामा राजस्व, निर्यात लगायतमा वृद्धि भएको बताए । 

मन्त्रालयले आइतवार सार्वजनिक गरेको विवरण अनुसार चालु आव पहिलो ६ महीना (साउन–पुस)मा निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको छ । गत आव सोही अवधिमा निर्यात ७.२ प्रतिशतले घटेको थियो ।

मन्त्रालयका अनुसार चालु आव पहिलो ६ महीनामा ९८ अर्ब ७९ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । गत आव सोही अवधिमा भने ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो ।

त्यसैगरी पहिलो ६ महीनामा ८ खर्ब २२ अर्ब ३७ करोड बराबरका वस्तु आयात भएको छ । यो ७.१ प्रतिशतले बढेको हो । गत आवको पहिलो ६ महीनामा भने ७ खर्ब ६८ अर्ब १७ लाखको आयात भएको थियो ।

चालु आव पहिलो ६ महीनामा आयात–निर्यात अनुपात ८.३ः१ रहेको छ । गत आव सोही अवधिमा १०.२ः१ थियो ।

अर्थ मन्त्रालयका अनुसार चालु आवको पहिलो ६ महीनामा राजस्व १२.७ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा भने ८.२ प्रतिशत मात्र बढेको थियो ।

त्यसैगरी पहिलो ६ महीनामा सरकारको खर्च ७.८ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा यस्तो खर्च १.७ प्रतिशतले घटेको थियो । 

वित्तीय संस्थामा निक्षेप संकलन २ खर्ब ११ अर्बले बढेको छ भने निक्षेप संकलन ३.३ प्रतिशतले सुधार भएको छ । कर्जा प्रवाह पनि ४.४१ प्रतिशतले बढेको छ ।

अर्थ मन्त्रालयका अनुसार चालु खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोडमध्ये पुस मसान्तसम्म २ खर्ब ६६ अर्ब ८५ करोड खर्च भएको छ । यो कुल व्ययको ३६.५ प्रतिशत हो ।

त्यस्तै कुल विनियोजित ३ खर्ब ५२ अर्ब ३५ करोड पूँजीगत खर्चमध्ये ६ महीनामा ५६ अर्ब ९४ करोड खर्च भएको छ । यो वार्षिक विनियोजनको तुलनामा १६.२ प्रतिशत खर्च हो ।

यसैगरी वित्तीय व्यवस्थातर्फ विनियोजित ३ खर्ब ६७ अर्ब २८ करोडमध्ये पुस मसान्तसम्म १ खर्ब ५८ अर्ब ६६ करोड खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्