वैदेशिक रोजगारीमा जानेको संख्या सत्र प्रतिशतले बढ्यो
काठमाडौ,माघ ७ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८०/८१ को तुलनामा चालु आव २०८१/८२ यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १६.७२ प्रतिशतले बढेको हो । गत आवको सो अवधिमा तीन लाख ३६ हजार ६६४ जनाले श्रम स्वीकृति लिएकोमा चालु आवको यस अवधिमा तीन लाख ९२ हजार ९६० जनाले श्रम स्वीकृति लिएर बिदेसिएको विभागले जनाएको छ । जुन सङ्ख्या गत आवको तुलनामा चालु आवमा ५६ हजार २९६ जनाले बढी हो ।
विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले चालु आवमा वैदेशिक रोजगारीमा जानका लागि सबैभन्दा धेरै कात्तिक र मङ्सिरमा श्रम स्वीकृति जारी भएको जानकारी दिए । पछिल्लो पटक नयाँभन्दा पनि बिदामा आएर पुनः श्रम स्वीकृति लिएर जाने धेरै भएकाले पनि विगतको तुलनामा सङ्ख्या बढेको उनको भनाइ छ । प्रवक्ता सुवेदीले मलेसिया जाने नेपाली श्रमिक घटे पनि गत आवदेखि नै संयुक्त अरब इमिरेट्स (युएई), कतार र साउदी अरब जानेको सङ्ख्या बढेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको जानकारी दिए । विभागका निर्देशक सुवेदीका अनुसार दसैँतिहार र छठ मनाएर फर्किने धेरै भएकाले नेपाली श्रमिकको सङ्ख्या कात्तिक र मङ्सिरमा धेरै भएको पुसदेखि सङ्ख्या केही घटेको बताए ।
चालु आवको छ महिनामा सबैभन्दा बढी ८४ हजार २२७ जनाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम असोजमा ५३ हजार ४२५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
आठ हजार छ सय फर्काइए
यसैबिच अध्यागमन विभागले विदेश जान विमानस्थल पुगेका आठ हजार ५९९ नागरिकलाई विमानस्थलबाटै फर्काएको जनाएको छ । यो सन् २०२४ मा अध्यागमनले फर्काएको विवरण हो । शङ्कास्पद भ्रमण भन्दै अध्यागमनले हरेक दिन जसो ‘अफलोड’ गर्दै आएको छ ।
विभागका अनुसार वैदेशिक भ्रमण भिसाको नाममा रोजगारीका लागि जान लागेकालाई फर्काउने गरिएको छ । भम्रण भिसामा विदेश जान खोज्नेलाई अध्यागमनले फर्काउने गरेको छ । अध्यागमनको यस्तो प्रवृत्तिले भ्रमण गर्ने नागरिकको घुमघाम गर्ने अधिकार हनन भएको भन्दै बेला बेलामा आलोचना हुँदै आएको छ । अध्यागमनले भने कागजात हेर्दा र उनीहरूको कुरा सुन्दा रोजगारीमा जाने जस्तो देखिएपछि विदेशमा पुगेर समस्यामा नपरून् भनेर विमानस्थलबाट फर्काइने गरिएको जनाएको छ ।