इजरायली सरकारद्वारा गाजा युद्धविराम सम्झौता अनुमोदन, सम्झौताले रोकिएन सेना



इजरायल,माघ ६ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शनिबार गाजायुद्धविराम र बन्धक मुक्त गर्ने सम्झौतालाई अनुमोदन गर्न इजरायलको क्याबिनेटले मतदान गरेको जनाएको छ । आइतबारदेखि शुरु हुने युद्धविरामले गाजाको अहिलेसम्मकै सबैभन्दा घातक युद्धमा लडाई  र बमबारी रोकिने आश गरिएको छ ।

नेतन्याहूको कार्यालयले शनिबार बिहान मन्त्रिपरिषद्मा भएको मतदानपछि भने, “सरकारले बन्धक फिर्ता गर्ने योजनालाई अनुमोदन गरेको छ ।” यसले सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि इजरायली जेलमा रहेका सयौं प्यालेस्टाइनी कैदीको बदलामा हमासको कब्जामा रहेको बन्धकहरूलाई रिहा गर्न पनि सक्षम बनाउनेछ ।

इजरायलको न्याय मन्त्रालयले पहिलो चरणको सम्झौताअनुसार ७३७ जना कैदी बन्दीलाई रिहा गरिने जनाएको छ ।

सम्झौताले रोकिएन इजरायली सेना

तर, इजरायली सेनाले युद्धविराम सम्झौताको घोषणा भएदेखि यता दर्जनौंको ज्यान लिइसकेको छ । भने सेनाले बिहीबार भनेको छ कि यसले विगत २४ घण्टामा गाजाका करिब ५० ओटा टार्गेटमा आक्रमण गरेको छ । गाजाको नागरिक सुरक्षा निकायका अनुसार इजरायलले उक्त क्षेत्रका विभिन्न क्षेत्रमा आक्रमण गर्दा १०० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् ।

हमासको सशस्त्र शाखा, इज्जेदिन अल-कासम ब्रिगेड्सले इजरायली आक्रमणले बन्धकहरूको जीवनलाई खतरामा पारिरहेको र उनीहरूको ‘स्वतन्त्रता… एक त्रासमा छ”। सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा परी एक हजार २१० जनाको मृत्यु भएको एएफपीले जनाएको छ । बन्धक बनाइएका २५१ जनामध्ये ९४ जना अझै गाजामै छन्, जसमध्ये ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।

इजरायलको प्रतिशोधात्मक अभियानले गाजाको अधिकांश भाग ध्वस्त पारेको छ। जसमा ४६ हजार ८७६ व्यक्तिको मृत्यु भएको छ, जसमध्ये अधिकांश सर्वसाधारण रहेका छन् । संयुक्त राष्ट्रसंघले भरपर्दो मानेको हमासद्वारा सञ्चालित त्यस क्षेत्रको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडनको टोलीसँग मिलेर सम्झौता गर्ने श्रेय लिएका छन् । डोनाल्ड ट्रम्पको सपथ ग्रहणको पूर्वसन्ध्यामा यो युद्धविराम लागू हुन लागेको हो । नेतन्याहूको कार्यालयले यसलाई ‘युद्धको उद्देश्य हासिल गर्न समर्थन गर्ने’ भन्दै इजरायलको सुरक्षा क्याबिनेटले यसलाई अनुमोदन गरेको थियो ।

प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले प्यालेस्टाइनी प्राधिकरणले युद्धपछि गाजामा पूर्ण जिम्मेवारी लिने तयारी पूरा गरेको बताएका छन् । युद्धविराम शुरु हुनुअघि नै विस्थापित गाजावासीहरू घर फर्कने तयारीमा थिए।

गाजा शहरमा रहेको आफ्नो घरबाट भागेर दक्षिणतिर शिविरमा गएका नसर अल–घराब्लीले भने, “म आफ्नो भूमिचुम्बन गर्न जान्छु। यदि म मेरो भूमिमा मर्छु भने, विस्थापित व्यक्तिको रूपमा यहाँ हुनुभन्दा राम्रो हुनेछ।” इजरायलमा हमासको आक्रमणमा बन्धक बनाइएका बाँकी कैदीहरूप्रति खुशी त थियो नै, पीडा पनि थियो ।

हमासले नोभेम्बर २०२३ मा केफिर, उनका चार वर्षीय भाइ एरियल र उनकी आमा शिरीको हवाई आक्रमणमा मृत्यु भएको बताएको थियो, तर इजरायली सेनाले उनीहरूको मृत्युको पुष्टि गर्न बाँकी रहेकाले धेरैजना आशामा अडिग छन्। शनिबार दोस्रो जन्मदिन परेका काफिर बिबास सबैभन्दा कान्छो बन्धक हुन् ।  “म तिनीहरूको बारेमा सोच्छु, यी दुई साना रेडहेडहरू, र म काँप्न थाल्छु,” ७० वर्षीय ओस्नात निस्काले भने, जसका नातिनातिनाहरू बिबास भाइहरूसँग नर्सरीमा पढ्थे।

दुई अति दक्षिणपन्थी मन्त्रीहरूले सम्झौताको विरोध गरेका थिए र एक जनाले क्याबिनेट छोड्ने धम्की दिएका थिए । तर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मतदानअघि युद्धविराम अघि बढ्ने विश्वास व्यक्त गरेका थिए। “म विश्वस्त छु, र म पूर्ण रूपमा आशा गर्दछु कि कार्यान्वयन शुरु हुनेछ, हामीले भने जस्तै” आइतबार उनले भने ।

युद्ध मथ्थर नुहुँदै जस लिने होड

कतार, संयुक्त राज्य अमेरिका र इजिप्टले महिनौँलामो वार्ता असफल भएपछि मध्यस्थकर्ताको तीव्र प्रयासपछि युद्धविराम सम्झौता भएको हो । वार्ताका दिनहरूमा बाइडनका पोइन्टम्यान ब्रेट म्याकगर्कलाई ट्रम्पका दूत स्टिभ विटकोफले यस क्षेत्रमा सामेल गराएर सम्झौतालाई निष्कर्षमा पुर्‍याएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

“यदि हामी संलग्न नभएको भए … यो सम्झौता कहिल्यै हुने थिएन,’ ट्रम्पले बिहीबार एक अन्तर्वार्तामा भने। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले बुधबार सम्झौताको घोषणा गर्दै प्रारम्भिक ४२ दिनको युद्धविराममा ३३ जना बन्धकलाई रिहा गरिने बताएका छन् ।

शुक्रबार उनले भने, ‘हामी पहिलो चरणको पूर्ण कार्यान्वयन चाहन्छौं, र दोस्रो चरण अन्तिम हुन चाहन्छौं । उनले भने, ‘हामी सुरक्षा परिषद्ले सम्झौता कार्यान्वयनका लागि बाध्यकारी प्रस्ताव जारी गर्ने प्रतिक्षामा छौं । इजरायली अधिकारीहरूले ती ३३ जना जीवितै रहेको अनुमान गरे पनि हमासले यसको पुष्टि गर्न सकेको छैन।

साथै पहिलो चरणमा इजरायली सेना गाजाको घना बस्ती भएको क्षेत्रबाट हट्ने र विस्थापित प्यालेस्टिनीहरूलाई “आफ्नो निवासमा” फर्कन अनुमति दिने कतारी प्रधानमन्त्रीले बताए। हमास निकट दुई स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार तीन जना इजरायली महिला सैनिकलाई आइतबार साँझ रिहा गरिने छ ।

इजरायली सेनाका एक अधिकारीका अनुसार केरेम शालोम, एरेज र रीममा रिसेप्सन प्वाइन्ट स्थापना गरिएको छ । जहाँ बन्धक बनाइएकाहरूलाई चिकित्सक र मानसिक स्वास्थ्य विशेषज्ञहरूले ‘हेलिकप्टर वा गाडीमार्फत’ इजरायलका अस्पतालहरूमा पुर्‍याइनेछ। नाम नबताउने शर्तमा एक स्रोतले भन्यो, “त्यसपछि इजरायलले प्यालेस्टाइनी कैदीहरूको पहिलो समूहलाई रिहा गर्ने अपेक्षा गरिएको छ, जसमा धेरै जना उच्च सजायका छन्।

इजिप्टको सरकारी सञ्चार माध्यमका अनुसार शुक्रबार भएको वार्तामा वार्ताकारहरूले युद्धविरामका शर्तहरूको “प्रभावकारी समन्वय सुनिश्चित गर्न” कायरोमा संयुक्त अपरेसन कक्ष गठन गर्न सहमत भएका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्सेली–इजरायली नागरिक ओफर काल्डेरोन र ओहद याहलोमीलाई पहिलो चरणमा मुक्त गरिने बताएका छन् ।

सहायताको अभावले ग्रस्त गाजामा जहाँ यसका २४ लाख मानिसहरू मध्ये लगभग सबै कम्तिमा एक पटक विस्थापित भएका छन् ।  मानवीय सहायता कार्यकर्ताहरू आगामी महत्त्वपूर्ण कार्यको बारेमा चिन्तित छन्। डाक्टर्स विदाउट बोर्डर्सका संयोजक अमान्डे बाजेरोलले एएफपीसँग भने, “सबै कुरा ध्वस्त भएको छ, बालबालिका सडकमा छन्, तपाईं एउटा मात्र प्राथमिकता छुट्याउन सक्नुहुन्न । एएफपी/रासस

प्रतिक्रिया दिनुहोस्