अमेरिकामा टिकटक प्रतिबन्ध हुने वा नहुने फैसला ट्रम्पले गर्ने
अमेरिका,माघ ६ । शुक्रबार सर्वोच्च अदालतको फैसलापछि संयुक्त राज्य अमेरिकामा टिकटकको भविष्य के हुने हुन्छ भन्ने बिषय अब नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पमा निर्भर हुने भएको छ । अदालतले प्लेटफर्मको चिनियाँ मूल कम्पनी बाइटडान्सले १९ जनवरी २०२५ सम्ममा टिकटकको अमेरिकी संस्करण विक्री गर्नुपर्ने कानूनलाई सदर गरेको छ।
सन् २०२४ को अप्रिलमा अमेरिकी कंग्रेसबाट पारित भइ राष्ट्रपति बाइडनले हस्ताक्षर गरेको उक्त कानुनमा बाइटडान्सले टिकटकलाई तटस्थ समुहलाई बेच्नुपर्ने उल्लेख छ । यसको पालना गर्न असफल भएमा एप्पल र गुगलले आफ्नो एप स्टोरबाट टिकटक हटाउनेछन् र हालका प्रयोगकर्ताहरूको लागि सुरक्षा अपडेटहरू बन्द गर्नेछन् । यस्तो भएमा सम्भवतः एप शटडाउन समेत हुन सक्छ।
अमेरिकामा करिब १७ करोड प्रयोगकर्ता रहेको टिकटकले यो प्रतिबन्ध अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन् हुने तर्क गरेको थियो । तर, सर्वोच्च अदालतले उक्त दाबीलाई अस्वीकार गरेको थियो । रोयटर्सका अनुसार यदि यो प्रतिबन्ध लागू भएमा एप्पल, गुगल र ओरेकल जस्ता कम्पनीहरुले टिकटकलाई सेवा प्रदान गरिरहेमा भारी जरिवाना को सामना गर्नु पर्नेछ ।
‘यदि निवर्तमान बाइडन प्रशासनले कार्यान्वयन नगर्ने सुनिश्चितता गर्न निश्चित प्रतिवद्धता प्रदान गर्दैन भने टिकटक जनवरी १९ मा बन्द गर्न बाध्य हुनेछ,’ टिकटकले एक विज्ञप्ति जारी गर्दै भनेको छ। यद्यपि राष्ट्रपति बाइडनले समयसीमाअगावै हस्तक्षेप गर्ने सम्भावना कम रहेको र यो विषय आगामी प्रशासनमा बाँकी रहेको सञ्चारमाध्यमले जनाएका छन् ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार जनवरी २० मा कार्यभार सम्हाल्ने तयारीमा रहेका छन् र उनले प्रतिबन्ध फुकुवा गर्ने संकेत गरेका छन् । ‘सर्वोच्च अदालतको फैसला अपेक्षित थियो र सबैले यसको सम्मान गर्नुपर्छ,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्। ‘टिकटकबारे मेरो निर्णय निकट भविष्यमा हुनेछ, तर मसँग स्थितिको समीक्षा गर्न समय हुनुपर्छ।’
ट्रम्पको शपथग्रहण समारोहमा सहभागी हुन आएका टिकटकका प्रमुख कार्यकारी अधिकृत शो जी च्यूले प्लेटफर्मको भाग्यमा पुनर्विचार गर्न ट्रम्पको खुलापनप्रति कृतज्ञता व्यक्त गरेका छन् । यो एप युवा पुस्तामाझ निकै लोकप्रिय छ । चाखलाग्दो कुरा के छ भने, धेरै अमेरिकी प्रयोगकर्ताहरूले टिकटकको सम्भावित प्रतिबन्धको विरोधको रूपमा चिनियाँ सामाजिक सञ्जाल अनुप्रयोग “लिटिल रेड बुक” को रूपमा अनुवाद गरिएको जियाओहोङशुलाई प्रयोग गरेका छन्।