‘मिलेमतो’मा अघि बढाउन खोजिएका किमाथांका अरुण र मुगु कर्णालीको वित्तीय लगानीको प्रक्रिया रद्द
काठमाडौं,माघ ५ । किमाथांका अरुण जलविद्युत आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानीको प्रक्रिया रद्द गरिएको छ ।
विद्युत उत्पादन कम्पनीले लिमिटेडले शुक्रवार एक दैनिक पत्रिकामा सूचना प्रकाशित गरी बोर्ड सञ्चालक समिति बैठकको निर्णयअनुसार उक्त प्रक्रिया रद्द गरेको जनाएको छ ।
यी दुई आयोजना मिलेमतोमा दिन लागिएको भन्दै चौतर्फी आलोचना भएपछि रद्द गरिएको बताइएको छ ।
विद्युत उत्पादन कम्पनीले निश्चित कम्पनीलाई अनुकूल हुने गरी कार्यविधि बनाएर दुवै आयोजनाका लागि प्रस्ताव आह्वान गरेपछि त्यसमा मिलेमतोको आशंका गरिएको हो । कम्पनीले ऊर्जामन्त्री दीपक खड्काको सहमतिमा कार्यविधि बनाएको हो ।
त्यसपछि कम्पनीले गत मंसिर २३ गते १५ दिनको म्याद दिएर यी आयोजनामा वित्तीय लगानीका लागि आशयपत्र पेश गर्न आह्वान गरेको थियो । त्यसपछि गत पुस ७ गते आशयपत्र पेश गर्नका लागि १५ दिनको समय थपिएको थियो ।
कुन आयोजनामा कुनको प्रस्ताव ?
१९०२ मेगावाटको जलाशययुक्त मुगु कर्णालीका लागि सीजी इनरगो प्रालिको प्रस्ताव परेको छ । उक्त कम्पनी कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीको हो ।
कार्यविधिमा लगानीका लागि एउटा मात्र प्रस्ताव परे पनि प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ ।
४५४ मेगावाटको किमाथांका अरुणका लागि ५ कम्पनीको आवेदन परेको छ, जसमा नोबेल ग्रुप अफ हाइड्रो इनर्जी, नेपाल इन्डस्ट्रिज, भिजन इनर्जी एन्ड पावर, एनजे हाइड्रो इनर्जी र अनक हाइड्रोपावर छन् ।
प्रधानमन्त्री र कांग्रेस नेताहरूको असन्तुष्टि
नयाँ कार्यविधि बनाएर आयोजना दिन लागिएपछि उक्त प्रक्रियाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएको स्रोतले जनाएको छ । यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीवार बिहान बोलाएको पार्टीका मन्त्रीहरूको बैठकमा पनि प्रश्न उठेको थियो ।
पार्टी उपसभापति, महामन्त्री, प्रमुख सचेतक र सचेतकसमेत उपस्थित भएको बैठकमा खड्काले ती आयोजनाको लगानीसम्बन्धी प्रक्रिया रोकिने निर्णय लिइसकेको जानकारी गराएका थिए । ‘प्रधानमन्त्रीले पनि रोक्न निर्देशन दिनुभएको छ, अब यी दुवै आयोजनाको नयाँ प्रक्रिया अघि बढ्छ,’ ऊर्जामन्त्री खड्काले भनेका थिए ।