प्रेसमा भएको बेथिति कडाइ गर्दै पत्रकार महासंघ गुल्मी



गुल्मी,माघ ४ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले प्रेसमा भएको बेथिति कडाइ गर्न थालेको छ । जिल्लामा अनावश्यक सवारीसाधनमा प्रेस लेखेर दुरुपयोग गरेको गुनासो आएपछि गुल्मी महासंघले यसको कडाइ गर्न थालेको हो ।

जिल्लामा क्रियाशील पत्रकार तथा संचारकर्मी बाहेक अन्य र अन्य पेशामा आवद्ध भएर पनि प्रेस लेखेर दुरुपयोग गरेको भन्दै महासंघले कार्यसमितिको बैठकबाटै निर्णय गरेर कडाइ गर्न थालेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका सचिव सन्तोष महताराले जानकारी दिए । यसको कडाइका लागि क्रियाशील संचारकर्मी तथा पत्रकारहरूको सवारीसाधनको अभिलेख राखेर परिचयपत्र जारी गर्ने तयारी थालिएको छ ।

सार्वजनिक ठाउँमा प्रेस लेखेका सवारीसाधन चलाएर दुरुपयोग गरेकोले यसको नियमन गर्न थालेको नेपाल पत्रकार जिल्ला शाखा गुल्मीका अध्यक्ष अनिल खत्रीले बताए । ’प्रेस बाहेक अन्यले मनलाग्दी गरेर यसको दुरुपयोग गरेका छन् ।’ अध्यक्ष खत्रीले भने, “अब यसको नियमन हुनेछ, पत्रकारिता मर्यादित हुनेछ ।“ प्रहरी प्रशासनसँग समन्वय गरेर यसको कडाइ गरिने उनले बताए ।

अब गुल्मीमा पत्रकार र संचारकर्मीले चलाउने सवारीसाधनहरू नेपाल पत्रकार महासंघ गुल्मीमा अभिलेखिकरण हुनेछन् । महासंघले कार्ड जारी गर्नेछ । कार्ड बिना प्रेस लेखेर बेथिति भएमा त्यस्ता सवारीसाधनमा लेखिएका प्रेस ट्राफिक प्रहरीले हटाउनेछन् । जसका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले सहजीकरण गरिरहेको सचिव महताराले बताए । 

प्रतिक्रिया दिनुहोस्