समुन्द्रादेवी माविको उत्प्रेरणा प्रशिक्षण कार्यक्रममा अभिभावक विद्यार्थी भावविह्वल (भिडियो)
नुवाकोट,माघ ४ ।
गुणी ब्यक्ति निउरिन्छ निरन्तर,
फलेको हागो नझुकेको कहाँ छ र?
“जीवन त एक दिन मर्नैपर्ने निश्चित छ । गाली गर्नु, कुरा काट्नु त सजिलो छ विद्यार्थी वा मानिसको मन जित्नु सारै कठिन हुन्छ । शिक्षकको मुहारमा जहिले मुस्कान देखिनु पर्दछ । हाँसेर पढाऔं । “
नेपालकै नमुना विद्यालय बुटवलस्थित कलिका मावनज्ञान माविका पीटी (फिजिकल ट्रेनिङ) शिक्षक हरिश ओलीले जब उत्प्रेरणा कक्षाको शुरूवात गरे । सबै उत्साहित थिए ।
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा रहेको समुन्द्रादेवी माध्यमिक विद्यालयमा बिहीबारदेखि भएको दुई दिने उत्प्रेरणा सिकाइ कक्षामा एकाएक विद्यार्थी र अभिभावकको रुवाबासी चल्यो। प्रशिक्षणका क्रममा प्रशिक्षक ओलीले पारिवारिक ममता र यसको महत्त्वको बारेमा विविध उदाहरण दिएका थिए ।
शैक्षिक सुधारका लागि प्रशिक्षक ओली भन्छन ‘शिक्षक त सबै हुन्छ, विद्यालय बनाउनु छ, शैक्षिक स्तर वृद्धि गर्नुछ भने प्रधानाध्यापक मात्र होइन हरेक शिक्षक रोल मोडल (असल उदाहरणीय) बन्नु पर्दछ । अनि हरेक ब्यक्तिको सफलताको लागि खुसी र सकारात्मक सोच पहिलो सर्त हो । त्यस्का लागि सबै जिम्मेवार हुनुपर्छ । ’
समुन्द्रादेवी माध्यमिक विद्यालयको प्राङ्गणमा बिहीबार शिक्षकहरुलाई उत्प्रेरणा जगाउन सुरु गर्दै ओलीले भने- सबै सर, मिसहरुको अनुहारमा हाँसो देखिनु पर्यो, तपाईहरुको अनुहारमा रिस, आवेग, आक्रोश देखियो भने विद्यार्थीले सहि ढंगले शिक्षा लिन सक्दैनन् । त्यसबेला तपाई सफल बन्न सक्नुहुन्न । तपाई असफल हुँदा विद्यालय सफल बन्न सक्दैन ।
प्रशिक्षक ओलीले समाजको चित्रणहुने गरी आफ्नो जीवनको संघर्ष अनि सफलताको कथा सुनाए । जुन कथामा अभिभावक र विद्यार्थी भावविह्वल बनेका थिए । प्रशिक्षक ओलीले आफ्नो बालबालिकाबाट अभिभावकलाई फूलको माला लगाएर स्नेह आदानप्रदान गराएका थिए ।
उपस्थित अभिभावकहरुले कार्यक्रमले परिवारप्रति थप माया र जिम्मेवारी बढाएको प्रतिक्रिया दिएका थिए । वडा नम्बर ६ को आर्थिक सहयोगमा भएको कार्यक्रममा वडा अध्यक्ष बिष्णु श्रेष्ठ, वडा सदस्य कमल तामाङ, समाजसेवी जितेन्द्र बिष्ट, श्याम लामा लगायतको प्रमुख उपस्थिति रहेको थियोे ।
माघ ४ र ५ गते सोही वडा मा रहेको अर्को माध्यमिक विद्यालय कालिकादेवी माद्यामिक विद्यालयमा समेत उत्प्रेरणा प्रशिक्षण कार्यक्रम हुने वडाले जनाएको छ ।