भारतलाई अन्तरिक्ष-डकिङमा सफलता



नयाँ दिल्ली,माघ ४ । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले बिहीवार सफलतापूर्वक अन्तरिक्ष डकिङ (अन्तरिक्षमा दुई साना यानलाई एकसाथ जोड्नु) गरेको छ । इसरोले दुई अन्तरिक्ष यान एसडीएक्स ०१ (चेजर) र एसडीएक्स ०२ (टार्गेट)लाई अन्तरिक्षमा डकिङ गरेको हो । 

यससँगै भारत अन्तरिक्ष डकिङ गर्ने विश्वको चौथो देश बनेको इसरोले जनाएको छ । भारतअघि अमेरिका, रुस र चीनले यस्तो उपलब्धि हासिल गरिसकेका छन् ।  

‘स्पाडेक्स’ नामक उक्त मिसनअन्तर्गत गत डिसेम्बर ३० मा भारतको श्रीहरिकोटास्थित शतीश धवन अन्तरिक्ष केन्द्रबाट भारतीय समय अनुसार राति १० बजे दुई अन्तरिक्ष यान प्रक्षेपण गरिएका थिए । ती दुई यान एउटै रकेटबाट प्रक्षेपण गरिएका थिए । 

अन्तरिक्ष डकिङ सम्पन्न भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्, ‘आगामी वर्षहरूमा भारतको महत्त्वाकांक्षी अन्तरिक्ष अभियानका लागि यो एउटा महत्त्वपूर्ण खुड्किलो हो ।’

भारतीय अन्तरिक्ष स्टेशन निर्माण गर्ने र चन्द्रमामा एक व्यक्तिलाई राख्ने भारतको महत्वाकांक्षी योजना छ ।अन्तरिक्षमा प्रक्षेपण गरिएका प्रत्येक यानको तौल लगभग २२० किलोग्राम (४८५ पाउण्ड) थियो । 

नासाकी पूर्ववैज्ञानिक तथा दिल्लीस्थित अन्तरिक्ष शिक्षा कम्पनी स्टेम एन्ड स्पेसकी सहसंस्थापक मिला मित्राले बीबीसीलाई भनिन्, ‘दुवै यानलाई एकसाथ अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । तर, छुट्टिने समयमा दुवैलाई फरक वेगमा राखिएको थियो । ताकि दुवै यानबीच १०–२० किलोमिटरको दूरी कायम गर्न सकियोस् ।’

शुरुमा ७ जनवरीका लागि तय गरिएको डकिङ पछि दुई दिन पछाडि धकेलिएको थियो । इसरोले डकिङभन्दा पहिले ‘सिमुलेशनको माध्यमबाट केही थप परीक्षण गर्न आवश्यक रहेको’ भन्दै पछि सारेको थियो । अन्तरिक्ष यानलाई ‘सुरक्षित दूरीमा फर्काइएको’ र दुवै यानले तथ्यांक विश्लेषण गरिरहेको इसरोले जनाएको छ । 

इसरोका एक अधिकारीले बीबीसीलाई बताएअनुसार आगामी दुई–तीन दिनमा यो मिसनले आफ्नो सबैभन्दा महत्त्वपूर्ण प्रयोगको रूपमा हेरिएको काम गर्नेछ । यसले चेजरबाट टार्गेटमा विद्युतीय शक्ति स्थानान्तरण गर्नेछ।

मित्रा भन्छिन्, ‘यो एउटा अन्तरिक्ष यानलाई अन्तरिक्षमा अर्को अन्तरिक्ष सेवाका लागि पठाउन सकिन्छ भन्ने देखाउनका लागि हो ।’

अन्तरिक्ष यानमा वैज्ञानिक उपकरण र क्यामेरा पनि रहेका छन् । आगामी दुई वर्षमा यी उपकरणले अन्तरिक्षमा विकिरण मापन गर्नेछन् । र, पृथ्वीमा प्राकृतिक स्रोतहरूको अनुगमन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्