माथिल्लो कर्णालीमा १७ वर्षपछि जुट्यो लगानी
काठमाडौं,माघ ४ । भारतीय लगानीकर्ता जिएमआरले हात पारेको करीव १७ वर्षपछि ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनामा लगानी जुटेको छ । भारतीय कम्पनी जीएमआरले सन् २००८ मा ग्लोबल टेन्डर मार्फत माथिल्लो कर्णाली परियोजना विकास गर्ने अनुमति पाएको थियो ।
सर्वोच्च अदालतले लगानी जुटाउन वा परियोजना छोड्न दिएको म्याद गुज्रिन २ दिन वाँकी छँदा भारतीय कम्पनी जिएमआरले नेपालका ५ वैक र भारतीय दुई वित्तीय संस्थावाट ऋण प्रतिवद्धता प्राप्त गरेको जानकारी लगानी बोर्ड नेपालाई जानकारी दिएको हो । सर्वोच्च अदालतको २०८० बैशाख २४ गतेको फैसला अनुसार यो वर्षको माघ ४ गते भित्र लगानी जुटाउनुपर्ने थियो ।
माथिल्लो कणाली परियोजना विकास गर्न नेपालमा स्थापना गरिएको जिएमआर अपर कर्णाली कम्पनीका प्रमुख के के शर्माले सर्वोच्च अदालतको फैसला मुताविक लगानी सुनिश्चित गरिएको कागजपत्रहरु बुधवार लगानी वोर्डलाई वुझाईएको वताए ।
‘नेपालबाट नेपाल इन्भेष्मेन्ट मेगा बैंक लिमिटेडको अगुवाइमा अरु चार बैंकले ४२ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको छ,’ शर्माले आर्थिक अभियानसँग भने । ‘त्यसैगरी भारतको इन्डियन रिन्युअल इनर्जी डेभलपमेन्ट एजेन्सी (इरेडा) र पावर फाइनान्स कर्पाेरेसन (पिएफसी) वाट पनि पर्याप्त लगानी प्रतिबद्धता प्राप्त भएको छ ।’
इरेडाको जिएमआर अपर कर्णाली कम्पनीमा ५ प्रतिशत इक्विटी लगानी पनि रहेको छ । सर्वोच्च अदालते दिएको म्यादभित्र लगानी जुटाउन सफल भएकोमा सन्तोष पनि उनले व्यक्त गरे । अदालतको संवैधानिक इजलाशले विगतमा अदालतको अन्तरिम आदेशका कारण गुम्न गएको समयबाहेक वित्तीय व्यवस्थापनका लागि थप समय नथप्न निर्देशन दिएको थियो । म्याद सकिने दिन नजिकिदै जाँदा पनि लगानी सुनिश्चित गर्न नसकेपछि जीएमआरले लगानी जुटाउने म्याद थप गर्न लगानी बोर्डलाई पत्राचार गरेको थियो ।
‘सर्वोच्चले फैसला सुनाउँदाको मितिदेखि पूर्ण पाठ आएको दिनबीच करीब २ महीना अन्तर रहेको भन्दै जीएमआरले उक्त अन्तरबीचको समय पनि वित्तीय व्यवस्थापनका लागि पाउनुपर्ने भन्दै बोर्डलाई पत्र पठाएको छ । तर माघ ४ नआईपग्दै लगानी जुटाएको जिएमआरले जनाएको हो ।
लगानी वोर्डको कार्यालयलले पनि माथिल्लो कणाली परियोजनाको लागि लगानी जुटेको कागजात प्राप्त भएको जानकारी दिएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले पनि सर्वोच्च अदालतले दिएको म्यादभित्रै लगानी जुटेको भनी वित्तीय व्यवस्थापनको सबै कागजातहरु बुधबार बोर्डमा पेश भएको जानाकारी दिए ।