भूकम्प प्रतिरोधी संरचना निर्माण आवश्यक : मन्त्री यादव
काठमाडौँ,माघ ३ । खानेपानी मन्त्री प्रदीप यादवले भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिएका छन् ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा बिहीबार यहाँ डिप्लोमा इञ्जिनियर्स एशोसिएसन नेपाल (डिन)ले आयोजना गरेको ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यक्रममा उनले भूकम्पीय जोखिमका दृष्टिले नेपाल विश्वको ११औँ स्थानमा रहेकाले सबै संरचना भूकम्प प्रतिरोधी बनाउनै पर्छ भने ।
‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्व तयारीका साथ’ नाराका साथ भूकम्प दिवस मनाइएको उल्लेख गदै उनले भूकम्पजस्ता प्राकृतिक प्रकोपबारे सचेत गराउँदै पूर्वतयारीलाई गम्भीरताका साथ लिनुपर्ने बताए ।
उनले भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपद्ले खानेपानी लगायतका पूर्वाधार, जनस्वास्थ्य र अर्थतन्त्रमा ठूलो असर गर्ने उल्लेख गर्दै विपद्पछिको पुनः निर्माणमा इञ्जिनियरहरुको भूमिका महत्वपूर्ण र अपरिहार्य हुने बताए ।
सरकारले पनि विपद् व्यवस्थापनका इन्जिनियरसँग सहकार्य गर्न तयार रहेको पनि उनको भनाइ थियो । “इञ्जिनियरहरुको कामलाई सहज बनाउन प्राविधिक, आर्थिक र नीतिगत रुपमा सहयोग गर्न तथा पूर्वाधार निर्माणका लागि प्राविधिक सहयोगको व्यवस्था गर्न सरकारले ठोस कदम चाल्नेछ”, उनले भने ।
मन्त्री यादवले भवन निर्माण संहिता पालन, पुराना र जोखिमयुक्त संरचनाको सुदृढीकरणमा आवश्यक रहेको बताए । उनले भने, “समुदाय, विद्यालय र कार्यालयमा भूकम्पीय जोखिम र पूर्व तयारीका विषयमा जनचेतना कार्यक्रम सञ्चालन गरी नियमित रुपमा अभ्यास गराई जोखिम प्रतिकार्य क्षमतामा वृद्धि गरिनुपर्छ ।”
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नेपाल भूकम्पको उच्च जोखिममा रहेकाले यहाँ यस प्रकारका कार्यक्रम नियमित रुपमा सञ्चालन गरी जनचेतना फैलाउन आवश्यक रहेको बताए ।