नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाई गरी मनाइयो माघे सङ्क्रान्ति
नुवाकोट,माघ २ । माघे सङ्क्रान्ति पर्वको अवसरमा मंगलबार नुवाकोटको तारुका, बेत्रावतीलगायतका स्थानमा गोरु जुधाई प्रदर्शनी आयोजना गरिएको छ ।
माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाई प्रदर्शनीको क्रममा यस वर्ष नुवाकोटको तारुकामा १३ हल, बेत्रावतीमा ११ हलसहित जिल्लाका विभिन्न स्थानमा यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा आयोजित गोरु जुधाइमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतसहितले अवलोकन गरे । यसअघि दर्ता भएर जुधाउन १४ हल तयारी अवस्थामा राखेको भए पनि एउटा गोरुको स्वास्थ्यमा समस्या देखिएसँगै १३ हल गोरु जुधाइएको थियोे ।
गोरु जुधाइको अवलोकनपश्चात् मुख्यमन्त्री तामाङले पशु अधिकारको रक्षा गर्दै संस्कृतिको जगेर्ना, पर्यटन प्रवर्द्धन र खेलकुदको एक विधाको रूपमा गोरु जुधाइलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । त्यसका लागि विषयगत मन्त्रालयसँगको सहकार्यमा आवश्यक कार्य अगाडि बढाइने उनले प्रतिबद्धता जनाए ।
गोरु जुधाई प्रदर्शनीमा विजेता र उपविजेता भएका गोरुका धनी किसानलाई प्रोत्साहनस्वरुप नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । जुधाइमा संलग्न भएका गोरुको प्रस्तुति, जुधाइको कलाकौशल गराएका र विजेता भएका सबै गोरुका धनीलाई भिन्न भिन्न विधामा सम्मान गरिएको माघे सङ्क्रान्ति गोरु जुधाई महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिए ।
यसै अवसरमा आज नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीमा ११ हल गोरु जुधाइएको छ । गोरु जुधाई प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटले किसानले पालेका मध्येबाट छनोट गरेर जुधाई प्रदर्शनी गरिएको जानकारी दिए ।
कार्यक्रममा विदुरका नगरप्रमुख राजन श्रेष्ठले कला, संस्कृति र इतिहाससँग जोडिएको गोरु जुधाई संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पछिल्ला वर्षमा नगरपालिकाको आर्थिक सहयोगसहित सहआयोजकका रुपमा भूमिका निर्वाह गर्दै आएकामा आगामी दिनमा वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेर थप सहयोग गरिने बताए ।
माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुई पिपल, लिखु गाउँपालिका–३ सूर्यमती, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा र नुवाकोटसँग सीमा जोडिएका धादिङका विभिन्न स्थानमा समेत गोरु जुधाई प्रदर्शनी गरेर किसानले माघे सङ्क्रान्ति पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
उता शिवपुरी गाउँपालिकाको शेराबगरमा भने वर्षेनी आयोजना हुँदै आएको गोरु जुधाई मेला स्थगित गरिएको छ । शेराबगर समाजले आर्थिक अभावका कारण मेला स्थगित गरेको जनाएको छ । यद्यपि स्थानीयले केहि हल गोरु जुधाएको भने खबर प्राप्त भएको छ ।
गोरु जुधाई प्रदर्शनीको सुरुआत विभिन्न इतिहाससँग जोडेर उल्लेख गरे पनि त्यसको कहीँकतै यकिन तथ्य भने नभएकाले धेरै वर्ष पहिलादेखि नुवाकोटका विभिन्न गाउँठाउँमा यस परम्पराको थालनी भएको पाइन्छ । रासस