केही दुग्ध पदार्थको आयात प्रतिबन्ध हटाउने संकेत
काठमाडौं,माघ २ । विभिन्न नौ प्रकारका दुग्धजन्य पदार्थ आयातमा ११ महीनाअघि प्रतिबन्ध लगाएको सरकार भारतको चर्को लबिइङपछि कम्तीमा दुईथरी दुग्ध पदार्थमा त्यस्तो प्रतिबन्ध हटाउन सकारात्मक देखिएको छ ।
शुक्रवार र शनिवार सम्पन्न नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा भारतले आफ्नो मुलुकमा उत्पादित दुग्धजन्य वस्तुको नेपाल निर्यातमा देखाएको चासोलाई ध्यानमा राखेर प्रतिबन्ध फुकाउन सकिने संकेत दिएको हो । ‘नेपालमा पर्याप्त उत्पादन नहुने दुग्ध पदार्थहरू जस्तै : चिज र ह्वे (दूध/दहीको पानी) को आयात खोल्न सकारात्मक रहेको जवाफ नेपालले दिएको छ,’ भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले आइतवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आइतवार नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भने यो विषय उल्लेख छैन । मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले भारतले प्रतिबन्ध पूर्ण रूपमा हटाउन आग्रह गरे पनि नेपालले देशभित्र पर्याप्त उत्पादन नहुने दुग्ध पदार्थको आयात मात्र खोल्न सकारात्मक रहेको सन्देश दिएको बताए । ‘जस्तै पिज्जामा प्रयोग गरिने मोजरेला नेपालमा उत्पादन नहुने रहेछ । नेपाली उद्योगहरूको मागका आधारमा यस्ता दुग्ध पदार्थको आयात खुलाउन सकारात्मक रहेको भनेका हौं,’ उनले भने, ‘भारतले मह आयात पनि खुलाउन आग्रह गरेको थियो । यसमा हामीले नेपाली महले बजार नपाएको अवस्था रहेको भन्दै यसको आयात खुला गर्ने प्रतिबद्धता जाहेर गरेनौं ।’
भारतीय लगानीको डाबर नेपालले महको आयात खुला गर्न आग्रह गर्दै आएको छ । नेपाली महबाट आवश्यक गुणस्तर कायम गर्न गाह्रो भएको दाबी गर्दै उक्त कम्पनीले यसको आयात खुला गर्न सरकारलाई चिठी लेखेको थियो ।
सरकारले २०८० फागुन ३ गते नौ प्रकारका दुग्ध पदार्थको आयातमा लगाएको प्रतिबन्धले विदेशी पर्यटकले चाहेअनुसार दुग्ध पदार्थका विभिन्न परिकार बनाउन समस्या भएको व्यवसायीले बताउँदै आएका छन् ।
तारे होटेलहरूमा उच्च गुणस्तरको नौनी (बटर), मोजरेला र फेन्च चिजहरू खपत हुन्छन् । गुणस्तरीय चिज उपलब्ध नहुँदा पर्यटकले चाहेअनुुसारको गुणस्तरीय पिज्जा दिन गाह्रो भएको उनीहरूले बताउँदै आएका छन् ।
नेपाल–भारत वाणिज्य तथा उद्योग संघ (निक्की)ले अहिलेको वार्ताले द्विपक्षीय लगानी र व्यापारका लागि थप सघाउने उल्लेख गरेको छ । उक्त वाणिज्य बैठकले व्यापार र पारवहनमा नयाँ उत्साह थपेको भन्दै निक्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पारवहन र वाणिज्य सन्धिको समीक्षाले विद्यमान सम्झौताहरूमा संशोधन, मापदण्डहरूको समन्वयका साथै रक्सौल–वीरगञ्ज रेल लाइनको विद्युतीकरणसहित व्यापारमा सघाउनेछ ।’ संघले नेपालको अनुरोधअनुसार २ लाख मेट्रिक टन गहुँ नेपालमा निर्यात गर्ने निर्णयको पनि स्वागत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतवार जारी गरेको विज्ञप्तिमा काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध हुँदै आवतजावत गर्ने नेपाली मालवाहक सवारीसाधनमा लगाइएको भार वहनको सीमा हटाइने सहमति भएको छ । यसअनुसार अब भारतीय मालवाहक गाडीसरह यो रूटमा नेपाली मालवाहक सवारी सञ्चालन हुनेछन् । अहिले सवारीसाधनको आकारअनुसार १८ दशमलव ५ टन र २८ टनसम्म मात्र भार बोकेर हिँड्न पाइन्छ ।
यसैगरी तेस्रो मुलुकसँगको व्यापारका लागि उडिसा (धाम्रा) र गुजरातको मुन्द्रा बन्दरगाह प्रयोग गर्ने, कोलकाता विमानस्थलबाट तेस्रो मुलुकमा सामान आयातनिर्यात गर्न पाउने र त्यसका लागि लेटर अफ एक्सचेन्जहरूलाई छिटो टुंग्याउने सहमति भएको छ । निक्कीले नेपाल–भारतबीच बनाइने नयाँ एकीकृत जाँच चौकीको सहमतिलाई पनि स्वागतयोग्य भनेको छ । नेपाल–भारत नाकाको नेपालगञ्ज एकीकृत जाँच चौकी, काँकडभिट्टाको आईसीडी र निर्माणाधीन दोधारा–चाँदनी एकीकृत जाँच चौकीसम्म रेलसेवा सञ्जाल विस्तार गर्न नेपालले अनुरोध गरेको छ । भारतीय पक्षले भने दुवै देशबीच अन्तरआबद्धता बढाउन रेलसेवा सञ्जाल विस्तारका लागि आवश्यक सर्वेक्षण गरिने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले उल्लेख गरेको छ ।