तारुका र वेत्रावतीमा २५ हल गोरु जुधाइने
नुवाकोट,माघ १ । माघे सङ्क्रान्ति अवसरमा आज नुवाकोटको तारुका, वेत्रावतीसहित विभिन्न स्थानमा गोरु जुधाइ मेलाको आयोजना गरि मनाउन लागिएको छ।
माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ प्रदर्शनीका लागि यस वर्ष तारुका र वेत्रावतीमा पच्चीस हल गोरु दर्ता भएको आयोजक समितिले जानकारी दिएका छन्।
जिल्लाको ताकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा गोरु जुधाइ प्रदर्शनीका लागि १४ हल गोरु दर्ता भएको माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिए। उनका अनुसार किसानले पालेकामध्येबाट जुधाइका तोकिएका मापदण्ड पूरा गरेका गोरु दर्ता भएका छन्। श्रेष्ठले विगत वर्षका तुलनामा जुधाइ प्रदर्शनीमा सहभागी गराउने गोरु दर्ताका लागि मापदण्डमा गरिएको कडाइले यो वर्ष सङ्ख्या कम भएको बताए ।
‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित आयोजना गरिएको कार्यक्रममार्फत संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन केन्द्रित गरिँदै आएको संयोजक श्रेष्ठको भनाइ छ। तारुकाको गोरु जुधाइको सुरुआत बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघरमा आउँदा १८८७ सालमा गोरु जुधाएर मनोरञ्जन दिएको भनाइ प्रचलित छ यद्यपि इतिहासमा सो कुरा भने उल्लेख गरिएको पाइन्न ।
यस्तै, माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीमा ११ हल गोरु दर्ता भएका छन्। गोरु जुधाउन किसानले पालेकामध्येबाट उत्कृष्ट ११ हल गोरु दर्ता गरेर गोरु जुधाइ प्रदर्शनी गर्न लागिएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ।
उता शिवपुरी गाउँपालिकास्थित शेराबगरमा हुने गोरु जुधाई मेला भने स्थगित गरिएको छ । शेराबगर समाजले एक सूचना सामाजिक संजालमा सेयर गर्दै मेला स्थगित गरेको जनाएको हो । समाजका अध्यक्ष अभियान आचार्यले आर्थिक अभावका कारण मेला स्थगित गरेको बताए ।