नुवाकोट शिवपुरीको गोरु जुधाइ मेला स्थगित
नुवाकोट,माघ १ । जिल्लाको शिवपुरी गाउँपालिकास्थित शेरा बगरमा बर्षौदेखि माघे सङ्क्रान्तिका अवसरमा हुँदै आएको गोरु जुधाइ मेला स्थगित भएको छ । गोरु जुधाइ मेलाका लागि आवश्यक रकम अभावका कारण मेला स्थगित गरिएको शेराबगर समाजका अध्यक्ष अभियान आचार्यले बताए ।
गोरु जुधाइ मेलाका लागि सात हल गोरु दर्ता गरिए पनि किसानलाई सान्त्वना पुरस्कार समेत उपलब्ध गराउन नसकिएकाले मेला नै स्थगित गरिएको अध्यक्ष आचार्यले बताए ।
‘गतवर्ष पनि स्थानीय तहबाट गोरु धनीलाई पुरस्कार दिने मात्र भनियो’ अध्यक्ष आचार्यले भने- ‘यसवर्ष पनि आश्वासन मात्र दिइएकाले कार्यक्रम अगाडि बढाउन सकिएन ।’
साथै अध्यक्ष आचार्यले गोरु जुधाइ कार्यक्रम स्थगित हुँदा पर्न गएको क्षतिप्रति सम्पूर्ण कृषक तथा दर्शकहरुसँग क्षमा मागेका छन् । नुवाकोटको पूर्वी क्षेत्रमा महत्त्वका साथ हुने यस मेला स्थगितले आगामी दिनमा के हुने भन्ने चासो सबैले व्यक्त गरेका छन् ।