आज माघे संक्रान्ति पर्व मनाइँदै



काठमाडौं,माघ १ । आज देशभर माघे  संक्रान्ति पर्व मनाइदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने  संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ ।
  
आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । 

आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।

आज देशभर स्नान पश्चात् मन्दिरमा पूजाआजा गरिन्छ । साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाउने गरिन्छ । भविष्य पुराण, विष्णु वचन तथा धर्म सिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोसिलो हुनुका साथै निरोगी हुने उल्लेख छ ।

जाडो मौसममा वातावरणको तापक्रम एकदमै कम हुने कारणले शरीरमा रोग व्याधीको सम्भावना बढी हुन्छ। यसैको रोकथामको प्रतिकात्मक कारण यस दिन तिल आदि परिकारले बनेको मिष्ठान्न तयार पारेर खाने गरिएको छ।

यसले शरीरलाई चिसो तथा चिसोका कारण शरीरमा लाग्ने रोगसित लड्ने क्षमताको विकास गर्न मद्दत गर्छ । त्यति मात्र होइन, चाकु, तथा सक्कर चिनीबाट बनेको नभई विभिन्न तत्वबाट बनाइने हुदाँ यसले शरीरमा विभिन्न खनिज पदार्थको रुपमा समेत काम गर्दछ ।

त्यस्तै, घिउ आफैमा अन स्याचुरेटेड फैटी एसिड भएकोल यसले शरीरमा बोसो जम्न दिदैन । बरु शरीरलाई आवश्यक पर्ने चिल्लोको प्रवाह गरी शरीरलाई बलियो बनाउन मद्दत गर्छ । यसमा गर्मी पैदा गर्ने तत्व हुने भएकोले बैज्ञानिक कारणले पनि यसलाई प्रचलनमा ल्याइएको हो। यसमा शरीरको लागि लाभदायक पोषक पदार्थ समेत पाईन्छ । उत्तर भारतमा यस दिन खिचडीको भोग दिइन्छ।

कन्दुमुलका नामले चिनिने तरुल तथा पिडालु रेशेदार खानेकुरा हो । यसले शरीरमा कैलोरी बढाउनुका साथै शरीरमा ताप पैदा गर्छ । साथै तरुल तथा पिडालुको सेवनले शरीरमा चिल्लो तथा बोसो जम्न दिदैन । माघे संक्रान्तिको परिकार काठमाडौं उपत्यकामा सख्खर पकाएर मसला हाली बनाइएको चाकु, उसिनेको तरुल, तिलको लड्डु पालुंगोको तरकारी लगायतका पदार्थ खाने चलन छ।तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

तराईवासीले भने माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

थारू समुदायले भने आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् । 

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्