जलवायु परिवर्तन र व्यापारमा दिगोपनासम्बन्धी दक्षिण एसियामा सम्मेलन सम्पन्न
काठमाडौं,पुस २९ । जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका विषयमा केन्द्रित दक्षिण एसियाली देशको तेस्रो वार्षिक सम्मेलन यहाँ आइतबार सम्पन्न भएको छ । दुई दिनसम्म चलेको उक्त सम्मेलन विश्व व्यापार संगठन र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा आयोजना गरिएको थियो । सम्मेलनको समापनका अवसरमा विभिन्न २१ शोधार्थीलाई प्रमाणपत्र र उत्कृष्ट शोधपत्र प्रस्तुत गर्नेलाई विशेष सम्मान गरिएको थियो ।
तीमध्ये ‘जलवायु परिवर्तनका कारण नेपालीको आयस्रोतमा आएको कमी’ शीर्षकको शोधपत्र प्रस्तुत गरेका सुशान्त रिजालले उत्कृष्ट शोधको अवार्ड जित्न सफल भए । ‘नेपालको व्यापारमा डिजिटाइजेसन’ विषयमा रिया रेग्मी र दिपेश कार्कीले तयार पारेको शोधपत्रले रनर अप अवार्ड प्राप्त गर्यो ।
समापन समारोहमा काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार डा अच्युत वाग्लेले सहभागी सम्पूर्ण शोधपत्र प्रस्तुतकर्तालाई धन्यवाद दिँदै सबै शोध उत्कृष्ट भए पनि केहीलाई मात्र छनोट गर्नुपरेको उल्लेख गरे ।
डा वाग्लेले शोधपत्रको छनोटका लागि छ वटा मापदण्ड तोकिएको र सम्मेलनको ‘थिम’प्रति अनुसन्धानको मेल, प्राज्ञिक तर्कमा योगदान, अनुसन्धानको विधि, तथ्याङ्क विश्लेषणको गुणस्तर, समाधानका सम्भावना र अनुसन्धानको प्रभावशीलता समावेश रहेको जानकारी दिए ।
भारतको सेन्टर फर ट्रेड एण्ड इन्भेस्टमेन्ट लका एसिस्टेन्ट प्रोफेसर सात्विक सेखरले नेपालजस्तो विकासोन्मुख देशका लागि व्यापार कानुन र प्राज्ञिक ज्ञानबीचको पुल निर्माण गर्न यस्तो सम्मेलन महत्त्वपूर्ण हुने बताए ।
उनले जलवायु परिवर्तन र व्यापारका क्षेत्रमा भइरहेको अनुसन्धानले अन्तर्राष्ट्रिय व्यापारको दिगोपनामा सकारात्मक प्रभाव पार्न सक्ने विचार व्यक्त गरे । सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, नेपाल र युरोपलगायतका विभिन्न देशका शोधकर्ताले आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए ।
उत्कृष्ट शोधपत्रका लेखक सुशान्त रिजालले जलवायु परिवर्तनले नेपालको व्यापार क्षेत्रमा पार्ने प्रभाव र त्यसबाट उत्पन्न हुने आर्थिक चुनौतीलाई आफ्नो अनुसन्धानले उजागर गरेको बताए । उनले आफ्नो शोधपत्रमा जलवायु परिवर्तनका कारण व्यावसायिक व्यक्तिले भोग्नुपर्ने जोखिम र त्यसको निवारणका उपायका बारेमा गहन अध्ययन गरिएको जानकारी दिए ।
सम्मेलनले जलवायु परिवर्तन र व्यापारका क्षेत्रमा थप अनुसन्धानात्मक कार्य गर्न प्रोत्साहन गर्ने आयोजकको अपेक्षा छ । आयोजकका अनुसार यो सम्मेलनले नेपालको व्यापार, जलवायु परिवर्तन, महिला सशक्तीकरण र डिजिटाइजेसनजस्ता विषयलाई गहिरो रुपमा अध्ययन गर्न नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ ।
व्यापार र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने अनुसन्धानकर्ताका लागि एउटा सशक्त मञ्चको रुपमा काम गरेको जनाइएको छ । सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका थिए ।