भरतपुर महानगरपालिकाले ल्यायो १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट



चितवन,पुस २९ । भरतपुर महानगरपालिकाले १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट ल्याएको छ । आइतवार १६ औं नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो । 

विनियोजन ऐन, २०८० ले विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेकाले पूरक बजेट ल्याइएको उपमेयर चित्रसेन अधिकारीले जानकारी दिए । 

बजेट शीर्षक तथा उपशीर्षकअन्तर्गत श्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाई राष्ट्रको विकासमा टेवा पुर्याउन, साधन–स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउन, सेवा प्रवाहलाइ सरल तथा प्रभावकारी बनाउन र वित्त विश्लेषणमार्फत जोखिम न्यूनीकरण गर्न पूरक बजेट ल्याइएको अधिकारीले बताए ।

चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति स्थितिको विश्लेषणको आधारमा बजेट तथा कार्यक्रम संशोधन एवम् समायोजन गरिएको उनले बताए ।

महानगरले आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५६ करोड १ लाख ४३ हजार बजेट विनियोजन गरेको थियो ।नगर सभामा महानगर प्रमुख रेणु दाहालले नारायणी नदीको किनारमा २३ किलोमिटर तटबन्धको कार्य अन्तिम चरणमा रहेको बताइन् । 

भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माणाधीन अवस्थामा रहेको र धावनमार्ग निर्माण प्रक्रिया शुरु भएको र गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिएको, एशियाली मापदण्डको सिक्स लेन सडक निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिइन् । 

यस्तै ८८ किलोमिटर लामो रिङरोडसहित संघ, प्रदेश र महानगरपालिकाको लगानीमा १ हजार ३ किमि कालोपत्रे सडक निर्माण भएको उनले बताइन् । महानगरको प्रशासकीय भवन, सिटी हल, जंगली जनावरबाट मानव तथा पशु बालीमा हुने क्षति न्यूनीकरणको लागि फाउण्डेशन सहितको मेस जाली निर्माण भइरहेको उनले बताइन् ।

उत्पादनमा आधारित अनुदान कार्यक्रमले दुध उत्पादनमा उल्लेख्य वृद्धि भई आम कृषकको आर्थिक अवस्थामा सुधार आएको उनले बताइन् । विभिन्न निकायसँगको समन्वयमा ७ हजार ९ सय विगाहा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिएको, नारायणी लिफ्ट सिँचाइ आयोजनालाई १२ महीनै सञ्चालन गर्ने गरी काम अगाडि बढेको उनले जानकारी दिइन । 

संस्थागत विद्यालयबाट वितरण हुने कक्षा १२ सम्मका छात्रवृत्तिलाई लक्षित वर्ग केन्द्रित गरी १४५ जना युवा स्वयंसेवक शिक्षकहरूको व्यवस्था गरी सबै विद्यालयमा शिक्षक व्यवस्थापन गरिएको उनले उल्लेख गरिन् । महानगरका स्थायी बासिन्दा महिलाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका ८ सय ९१ जना छोरीहरूको बालउमङ्ग जीवन बीमा गरिएको बताइन् ।

सो अवसरमा भरतपुर भ्रमण वर्ष २०२४ को अवधिमा भरतपुर महानगरपालिकामा ११ लाख ६४ हजार आन्तरिक पर्यटक र २ लाख ८४ हजार बाह्य पर्यटकसहित जम्मा १४ लाख ४९ हजार जना पर्यटकले भरतपुर भ्रमण गरेका जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्