नुवाकोट भद्रुटारमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा भव्य मेलाको तयारी



नुवाकोट,पुस २८ । जिल्लाको पुर्वी क्षेत्र पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा यस वर्ष भव्य मेलाको तयारी गरिएको छ ।

दोश्रो दुप्चेश्वरका रुपमा परिचीत सो मन्दिरमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको बजेटबाट गतवर्ष नै देवालय तथा सिढीयुक्त बाटो निर्माण सम्पन्न भैसकेको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष माधब सिटौलाले बताए ।

वर्षौंदेखि चल्दै आएको धार्मिक क्षेत्र युवा पुस्तान्तरण हुन नसक्दा लोपोन्मुख हुन्छ कि भन्ने डरले मन्दिरको संरक्षण गरी पुरानै लयमा फर्काउन आफू लागी परेको वडाध्यक्ष्य सिटौलाले बताउँछन् । रामतीमा अवस्थित दुप्चेश्वर मन्दिरका झैं संरचना रहेको भद्रुटार दुप्चेश्वरमा स्थानीयले सरसफाइ गरेका छन् । मन्दिर तथा देवालय संरक्षणका लागि अग्रणी भूमिका निर्वाह गर्ने अध्यक्ष पाएकोमा स्थानीयलाई हर्षानुभूति भएको स्थानीय युवा प्रेम तामाङले बताए ।

पौष मसान्तका दिन मेला लाग्ने यस मन्दिरमा यसवर्ष भने विभिन्न चुट्का,भजन, धामीझाँक्रीसहितको झाँकी, लोकदोहोरी कार्यक्रम हुने वडा अध्यक्ष सिटौलाले बताए ।

यसवर्ष चर्चित लोकदोहोरी गायक कुमार भण्डारी, रामहरि भण्डारी, शुशिला लामा, बद्री सिटौला, आर्यन बिरही र राजकुमार खनालको प्रस्तुति रहने गायक तथा सर्जक समेत रहेका स्थानीय युवा प्रेम तामाङले बताए ।

गाईको पाइला रहेको पत्थर

यस क्षेत्रमा गाईको पाईताला (खुर)को डोब भएको पत्थर समेत रहेको छ । सदियौदेखि यस क्षेत्रमा भगवान शिवको प्रार्थना तथा आराधना गरिदै आएको बताइन्छ । तर पछिल्लो समय मानिसको संख्यामा कमी हुँदै गएको र धार्मिक कार्यक्रम कम हुने गरेकाले संरक्षण स्वरूप पुनः संचालन गरिएको छ । बृद्धअबश्थाका केही अगुवाले सत्यभूमिको रुपमा परिचित चालचलनलाई निरन्तरता दिनुपर्ने यस अघि बताउदै आएका थिए ।

पत्थरबीच फुटेको पानी मुल

मन्दिरमा अनौठो तथा रहस्यमय दृश्य देख्न सकिन्छ । आश्चर्य यो छ कि पत्थर बीचबाट पानीको मूल प्रवाह भएको छ । वर्षौंदेखि उक्त मूल प्रवाह न सुकेको छ न बढेको नै । धार्मिक कथन अनुसार उक्त स्थानमा गाईले दुध चढाउने गरेको समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्