विश्व तापक्रम युगकै उच्च, हिमालको हिउँ बढी पग्लने र वातावरण सकिने अनुमान
काठमाडौ,पुस २८ । विश्वको औसत तापक्रमले नयाँ कीर्तिमान कायम गरेसँगै विश्वमा जलवायुजन्य प्रकोपको चुनौती थप उच्च हुने भएको छ । सन् २०२३ मा देखिएको विश्वव्यापी उच्च तापक्रमको रेकर्ड मात्र होइन, औद्योगिक युगको उच्च तापक्रमको रेकर्ड सन् २०२४ को तापक्रमले तोडेको छ ।
विगत ८५ वर्षको अन्तरालमा वृद्धि भएका औसत तापक्रमहरूको पनि रेकर्ड तोड्दै सन् २०२४ मा औसत तापक्रम १५.१० डिग्री सेल्सियस कायम भएको हो । मौसम वैज्ञानिक डा. मदनलाल श्रेष्ठले यो लक्षण विश्वकै लागि गतिलो नरहेको औँल्याए । उनका अनुसार यसले अबका दिनमा जलवायु परिवर्तनको प्रभाव उच्चस्तरमा देखिने दर्शाउँछ । उनले भने, “विकसित मुलुकको व्यवहार हेर्दा कार्बन उत्सर्जन घटाउने कार्यक्रम छैन, बरु झन् बढाउनेतिर गइरहेका छन् ।”
तापक्रम वृद्धिको प्रवृत्ति डरलाग्दो देखिएसँगै विश्वव्यापी प्रयास भने कमजोर देखिएको श्रेष्ठले बताए । तापक्रम वृद्धिले ल्याउने जलवायु परिवर्तनको नोक्सानीको क्षतिपूर्ति दिनुभन्दा पहिल्यै रोकथाम गर्नु राम्रो भन्ने कुरा विकसित मुलुकले नकारेको देखिएको उनले आरोप लगाए । यो विश्वमा औद्योगिकीकरणको सुरुवातताकाको तापक्रमभन्दा उच्च हो ।
युरोपियन युनियनको कपर्निकस क्लाइमेट चेन्ज सर्भिससहित छ वटा संस्थाले सामूहिक रूपमा गरेको अध्ययन प्रतिवेदन अनुसार औद्योगिकीकरणका क्रममा सन् १८५०–१९०० सम्मको पाँच दशकमा देखिएको उच्च तापक्रमभन्दा बढी हो । औद्योगिकीकरणको समयमा वार्षिक विश्वव्यापी औसत तापक्रमको वृद्धि १.५ डिग्री सेल्सियसलाई आधार मानेर त्यसमै सीमित गर्न सन् २०१५ मा पेरिस सम्झौता भएको थियो । त्यस्तै सन् १९९१ देखि सन् २०२० को दशकमा देखिएको औसत तापक्रमभन्दा ०.७२ डिग्री सेल्सियसले बढी हो ।
जलवायुविज्ञ मञ्जित ढकालले जुन हिसाबले तापमान बढ्छ भनिएको थियो, त्यही हिसाबले बढ्दै गएको औँल्याए । त्यही प्रकारले अब जलवायुजन्य प्रकोपहरूको जोखिम उच्च हुने देखिएको उनले प्रस्ट्याए ।
उनले भने, “एक डिग्री औसत तापक्रम बढ्दा प्रत्येक १० वर्षमा एक पटक ठुलो बाढी जान्थ्यो भने अब तापक्रमसँगै जलवायुजन्य प्रकोपको गति र सङ्ख्या दुवै बढ्ने छ ।” तापक्रम हरेक वर्ष नयाँ रेकर्ड कायम गर्दै जाने हो भने अब वर्षको तीनदेखि चार पटक ठुलो बाढी र त्यही अनुसारको सुक्खा खडेरी जाने अनुमान ढकालले गरे ।
उनले थपे, “एउटा किसानले तीन/चार पटक बाढी र सुक्खा लाग्यो भने उसले के गर्ने अनि त्यसले हाइड्रोपावर र अन्य उद्योग उत्पादन, व्यवसायमा पनि उस्तै असर पार्छ ।” पेरिस सम्झौता अनुसार १.५ मा सीमित पार्ने भनिएको लक्ष्य प्राप्त गर्न अझै मेहनत र प्रतिबद्धता आवश्यक रहेको उनले बताए ।
त्यसका लागि ठुला ऊर्जा केन्द्र चलाएर कार्बन उत्सर्जन बढी गर्ने विकसित मुलुकले घटाउनै पर्छ । उनका अनुसार विश्वमा जी–ट्वान्टी र जी–सेभेन देशहरूले विश्वको ८५ प्रतिशत कुल गार्हस्थ उत्पादन नियन्त्रण गर्छ । उनीहरूले नै ८० प्रतिशत कार्बन उत्सर्जन गर्छन् । त्यसैले जिम्मेवार बढी उनीहरू नै हुनुपर्नेमा ढकालले जोड दिए । यसरी हरेक वर्ष तापक्रमले नयाँ रेकर्ड कायम गर्नुले पनि उनीहरूले प्रतिबद्धता पूरा गर्न तत्परता नदेखाएको प्रस्ट पारेको दाबी गरे । आफ्नो कार्बन उत्सर्जन घटाउने मात्र होइन, नयाँ प्रविधि र स्वच्छ ऊर्जा प्रयोगमा ध्यान दिनैपर्छ । नत्र विश्वव्यापी जलवायु अवस्थितिमा असन्तुलन आउँछ । ठुलो बाढी धेरै पटक आउने र त्यसमा ठुलो पानीको घनत्व रहँदा जनजीवनमा कडा असर पार्छ ।
ढकालका अनुसार तापक्रम १.५ डिग्री बढ्दा जलवायुजन्य प्रकोपको परिपूरण जति अब चाहिन्थ्यो त्योभन्दा बढी चाहिने अवस्था आएको छ । जलवायुवित्त उपलब्ध गराएर मात्र पुगेन । पेरिस सम्झौता अनुसार स्वच्छ ऊर्जामा रूपान्तरण हुँदै जाने प्रतिबद्धता अनुसार चल्नुपर्ने हो । अझै पनि सबै देशले देशीय प्रतिबद्धता कार्यान्वयन गरेकोे खण्डमा २०१९ को तुलनामा २०३० सम्म ०.३ प्रतिशत कार्बन उत्सर्जन घट्ने अनुमान गरिएको छ ।
नयाँ तापक्रम रेकर्डको असर नेपाल जस्तो हिमाली मुलुकका लागि अति घातक रहेको मौसम वैज्ञानिक मदनलाल श्रेष्ठ बताउछन् । उनले भने, “यहाँको हिमालको हिउँ बढी पग्लने र सकिने वातावरण बन्दै छ, त्यो भनेको हाम्रो जीवन मासिनु हो ।”
जलवायुविज्ञ ढकालले नेपालले वन जोगाउँछु र स्वच्छ ऊर्जा उपयोग गर्छु भनेर काम गरिरहेको बताए । विकसित मुलुकले त्यसो नगर्दा नेपालको मेहनतले खासै काम गर्दैन । नेपालको अधिकतम तापमान ४५ वर्षमा २.५ डिग्रीले बढ्दै छ, जसले गर्मी बढाउँदै छ तर न्यूनतम तापक्रम त्यति बढेको छैन । कपर्निकसको प्रतिवेदनले एसिया क्षेत्रको तापक्रम आगामी दिनमा बढ्दै जाने क्रममा रहेको औँल्याउनुले खतरा बढेको दर्शाउँछ । गोरखापत्रबाट