विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
काठमाडौ,पुस २६ । मलेसियामा आयोजना हुने आइसिसी यु–१९ (उन्नाइस वर्षमुनि) महिला विश्वकप क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ(क्यान)द्वारा शुक्रबार यहाँ आयोजित एक कार्यक्रममा पूजा महतोको कप्तानीमा रहेको नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, क्यानका पदाधिकारीलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् ।
युवा तथा खेलकुद मन्त्री चौधरीले नेपाली युवा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताउँदै विद्यालय स्तरदेखि नै खेल क्षेत्रलाई अगाडि बढाउन आवश्यक रहेको विचार व्यक्त गरे ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आयोजनामा हुने उक्त प्रतियोगिता आगामी माघ ५ देखि २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालको यो पहिलो सहभागिता हो । विभिन्न १६ राष्ट्र सहभागी विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।
नेपालको समूहमा बङ्गलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड छन् । नेपालले समूह चरणको पहिलो खेल आगामी माघ ५ गते बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।
विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् । त्यस्तै समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् भने समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया रहेका छन् ।
नेपाली युवा टोलीमा कप्तान महतोसँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, रचना चौधरी, अनु कडायत, तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी र ज्योत्सिका मरासिनी रहेका छन् । नेपाली टोली शनिबार मलेसिया प्रस्थान गर्नेछ ।