गुल्मीमा तीन पूर्व जनप्रतिनिधिको शालिक अनावरण



गुल्मी,पुस २६ । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाको वडानम्बर–५ वस्तुमा सामाजिक, राजनीतिज्ञ तथा पूर्व जनप्रतिनिधिहरुको शालिक अनावरण गरिएको छ । पूर्व सांसद रुद्रमणी शर्मा भण्डारी, पूर्व जिल्ला विकास समिति उपसभापती परमानन्द भण्डारी र पूर्व गाविस अध्यक्ष टोमलाल पाण्डेको निर्माण गरेको शालिक लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनावरण गरेका हुन ।

रुद्रामणी, टोकलाल, परमानन्द पार्क निर्माण गरेर उनिहरुको शालिक राखिएको छ । तत्कालिन समयमा जनप्रतिनिधिका हिसाबले गाउँ तथा जिल्लाकै विकास निर्माणमा खेलेको योगदानको उच्च मूल्याङकन स्वरु शालिक निर्माण गरेर अनवरण गरिएको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बताए । शुक्रवार शालिक अनावरण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले अग्रजहरुको योगदान र समर्पणलेनै मुलुकमा परिवर्तन सम्भव भएको बताए । दुःख कष्ट व्यहोरेर मुलुकमा परिवर्तन ल्याउन अग्रजहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको र प्रदेश सरकारले सधैं सम्झिरहने धारणा राखे ।

मुख्यमन्त्री आचार्य अग्रजले सिकाएका सकारात्मक पाठहरु सिक्दै समुन्नत समाज निर्माणकोलागि नयाँ पुस्ताले योगदान गर्नु पर्ने बताए ।‘समाजमा राम्रो काम गर्ने व्यक्तिको सम्मान हुन जरुरी छ, कदर हुन जरुरी छ । भावी पुस्ताले पनि समाजमा राम्रो काम गर्नेहरुलाई सम्मान र कदर गर्नेछ’ उनले भने,‘त्यसैले समाजमा राम्रो काम गर्नेहरुको सम्मान हुन जरुरी छ ।’

धुर्काेटको समग्र विकासकालागि अग्रजहरुले खेलेको भूमिका समाजले कहिल्यै भुल्न नसक्ने बताए । ‘अग्रजहरुले धुर्काेटमा शिक्षाको उज्यालो छर्ने काम गरे । विद्यालय बनाए । क्याम्पस खोले । उनीहरुको योगदान र मेहनत चानचुने थिएन’उनले भने,‘अहिले गाउँमै उच्च शिक्षा अध्ययन गर्ने अवसर प्राप्त भएको छ ।’

विकट वस्तीमा खानेपानी, शिक्षा, स्वास्थ्य लगायत आधारभुत सेवा पु¥याउन अग्रजहरुले खेलेको भूमिकाले सम्भव भएको उल्लेख गरे । स्थानीय सरकारले अग्रजहरुको सम्मानमा नमुना काम गरेको भन्दै प्रशंसा व्यक्त गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्याल, गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल लगायत स्थानीय तहका जनप्रतिनिधि, राजनीकिकर्मी, समाजसेवी, स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्