पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुम्कीबासको पुल भाँचिदा यातायात पूर्ण रुपमा अवरुद्ध 



नवलपरासी,पुस २६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुम्कीबासको पुल भाँचिदा यातायात पूर्ण रुपमा अवरुद्ध बनेको छ ।

प्रहरीका अनुसार अत्यधिक भारसहितको मालवाहक लरीका कारण पुल भाँचिएको हो । अत्यधिक भार बोकेको लरीका कारण शुक्रबार साँझ साढे ५ बजेतिर दुम्कीबासदेखि केही पूर्वमा रहेको विनयी खोलामा रहेको पुल भाँचिएको हो ।

डाइभर्सन सडक निर्माण नगरेसम्म राजमार्गको यातायात ठप्प भएको छ । यातायात सञ्चालनका लागि डाइभर्सन निर्माण गर्ने उपयुक्त ठाउँको खोजी भइरहेको र वैकल्पिक रुपमा डाइभर्सन बनाएर यातायात सञ्चालनकाे प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका एसपी यादव ढकालले जानकारी दिए ।

वैकल्पिक सडक निर्माण नगरेसम्म राजमार्ग हुँदै पूर्व–पश्चिम हिँड्ने गाडी दाउन्ने र अरुण खोलामा रोकिएका छन्। पुलमा एउटा लरी सेत फसेको र उक्त लरी निकाल्न समेत कठिनाइ भएको प्रहरीको भनाइ छ । शीतलहरका कारण तीन दिनसम्म अवरोध बनेको सडक आजबाट मात्रै सहज रुपमा सञ्चालनमा आएको थियो । पुनः पुल भाँचिदा यात्रुहरू मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्