विपत्तिमा खटिन्छन् दलका युवा : दलबल छ, दक्ष जनशक्ति छैन



काठमाडौ,पुस २६ । भूकम्प, बाढीपहिरो, आगलागीजस्ता ठुला प्राकृतिक विपत्मा राजनीतिक दलका नेता, कार्यकर्ता खटिने गरेका छन् । राजनीतिक दलका नेता दलबलसहित प्राकृतिक विपत्तिग्रस्त क्षेत्रमा पनि पुग्छन् तर प्राकृतिक प्रकोपमा चाहिने आधारभूत ज्ञान, सिप र प्राथमिक स्वास्थ्योपचारका सन्दर्भमा प्रारम्भिक एवं न्यूनतम जानकारी नहुँदा उद्धारसम्बन्धी तत्कालै गर्नुपर्ने काम भने प्रभावकारी हुन सक्दैन । अझ त्यस्तो जनशक्ति राज्यको स्रोतसाधनसँग नजोडिँदासम्म उद्धारको काम प्रभावकारी बन्न सकिरहेको छैन । बिनास्रोतसाधनको खटाई कहिलेकाहीँ प्रत्युत्पादक हुने पनि गरेको छ । 

भूकम्प, बाढीपहिरो होस् वा सडक दुर्घटना प्रारम्भिक उद्धारमा चाहिने ट्रमासहितको स्वास्थ्यकर्मीको टोली उपलब्ध नहुँदा सुरक्षाकर्मीले आफ्नो बलबुद्धिले भ्याएसम्म उद्धार गरेर अस्पताल पठाउने गरेका छन् । 

तर, राजनीतिक दलभित्रै युवाको ठुलो सङ्गठित जनशक्ति रहे पनि आवश्यक प्रशिक्षण र दक्ष बनाउन कुनै कार्यक्रमको योजना बनाएको पाइँदैन । तत्कालको उद्धारमा सुरक्षाकर्मीको मात्रै पर्याप्त जनशक्ति नहुँदा ठुला प्राकृतिक प्रकोपमा घाइतेले उपचारै नपाई ज्यान गुमाउनुपर्ने अवस्था छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय सदस्य एवं संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले राजनीतिक दलले युवा र विद्यार्थीलाई आधारभूत प्राविधिक सिप र ज्ञान दिन सके प्रारम्भिक उद्धार र राहत कार्यमा राज्यका निकायलाई सहयोग पुग्ने बताए ।

‘विद्यालय तहबाटै विपत्सम्बन्धी ज्ञान’

नेपालमा व्यवस्थापनसँग सम्बन्धित रहेर काम गर्ने जनशक्ति ज्यादै थोरै छ । त्यसमाथि हरेक पटक प्राकृतिक विपत्तिमा उद्धार कार्यमा सुरक्षाकर्मीलाई घण्टौँसम्म पर्खिनुपर्ने परिस्थिति पनि छ । 

विपत् व्यवस्थापनविज्ञ मित्रबन्धु पौडेलले राजनीतिक दलले आफ्ना कार्यकर्तालाई उद्धार कार्यबारे न्यूनतम प्रशिक्षण प्रदान गर्नुपर्ने बताए । उनले एक जना मात्रै दक्ष प्राविधिकले नेतृत्व गरेमा प्राकृतिक प्रकोपमा उद्धार कार्य सहजै अघि बढाउन ठुलो राहत मिल्ने बताए । 

उनले भने, “राजनीतिक दलका विद्यार्थी नेता सिद्धान्तबाट मात्रै प्रेरित भइदिन्छन् । प्राविधिक विषय र धरातलीय यथार्थमा रहने भए न्यूनतम ज्ञान हासिल गर्नु पर्छ । विज्ञसँग सल्लाह लिनु पर्छ । नेपाल भूकम्पको जोखिममा छ भन्ने कुरा ज्ञात भइसकेपछि भूकम्प, बाढीपहिरोमा उद्धार राहतका सन्दर्भमा विद्यालय तहबाटै प्राविधिक ज्ञान दिनु पर्छ ।” 

उनले राज्यकै निकायको पनि पूर्वतयारीको काममा कमजोरी रहेको औँल्याए । उनले सेना प्रहरीसँगै दलका कार्यकर्तालाई आधारभूत तालिम दिएर प्रारम्भिक चरणको उद्धारमा खटाउन सकिए त्यो परिणाममुखी हुने बताए ।

‘विज्ञको एकाइ आवश्यक’

कांग्रेस महामन्त्री शर्माले राजनीतिक दलले पूर्वसचेतनाका सन्दर्भमा केही कमजोरी गरेको स्वीकार गरे । उनले प्रारम्भिक उद्धार र प्राथमिक उपचार गर्ने सन्दर्भमा युवा, विद्यार्थीलाई प्रशिक्षित गरिए राज्यलाई सहयोग पुग्ने प्रस्ट पारे। 

उनले भने, “बाढी आउने, भीषण वर्षा हुने जस्ता पूर्वसूचना आउने विषयमा कमजोरी भएको छ तर राहत वितरण, अस्थायी टहरा बनाउने सन्दर्भमा दलहरूले सशक्त रूपमा काम गरेका छन् । पार्टीपङ्क्तिलाई अझै दीक्षित बनाउने भन्ने सन्दर्भमा सोच्नु पर्छ । यद्यपि गर्दै नगरेको भन्ने चाहिँ होइन ।” 

एमाले नेता बर्तौलाले प्राकृतिक विपत्तिमा युवा र विद्यार्थी सङ्गठनले स्वयंसेवकको भूमिकामा काम गरिरहेको बताए । उनले प्राविधिक रूपमा दक्ष जनशक्तिको व्यवस्थापन गर्न सके त्यसबाट अझ बढी फाइदा पुग्ने बताए । उनले भने, “एमालेले विपत्को पूर्वतयारीका सन्दर्भमा विभिन्न कार्यक्रम गर्ने गरेको छ । मूलतः सरकारले उद्धारको काम सुरु गर्नुअघि दलका नेता कार्यकर्ता पुग्छन् तर यसलाई प्रभावकारी बनाउनु पर्छ ।”

उनले प्राकृतिक विपत्तिपछि विपत् व्यवस्थापन समिति बनाउने गरिए पनि पूर्वतयारी स्वरूप दक्ष र प्राविधिक जनशक्ति युनिट बनाउन आवश्यक रहेको बताए । उनले भने, “सबै हिसाबले विशेषज्ञ जनशक्ति पनि र एकाइ पनि पार्टीमा आवश्यक छ । यो एकाइले राज्यलाई योगदान दिन सक्छ ।”

‘राज्यले समन्वय गर्नु पर्छ’

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले स्रोतसाधन राज्यसँग हुने भएकाले पार्टीभित्रै जनशक्ति भए पनि त्यसले काम गर्न नसक्ने बताए । उनले भूपू सेना, प्रहरी दलसँग रहेमा उनीहरूलाई परिचालन गर्न सकिने बताउँदै तर व्यक्ति एक्लै सबै कुरा गर्न नसक्ने प्रस्ट पारे ।

उनले भने, “दलसँग भएको जनशक्ति पनि राज्यसँग जोडिनु पर्छ । उद्धारका सामग्री उपलब्ध हुनु पर्छ । जनशक्ति परिचालन स्रोतसाधनसँग जोडिएको हुन्छ । राज्यकै निकायको समन्वयमा गर्नु पर्छ । दलका कार्यकर्ता, युवा र विद्यार्थी परिचालनको विषय राज्यकै व्यवस्थापकीय पक्षसँग निर्भर हुन्छ ।”

कांग्रेस महामन्त्री शर्माले प्राकृतिक प्रकोपपछि राहत र उद्धार भिन्न प्रकृति हुने बताए । उनले राजनीतिक दलका कार्यकर्ताको भिड उद्धारमा लगिए यसले राज्यका निकायको काम प्रभावित हुन सक्ने बताए । उनले भने, “राहतमा जो खटे पनि हुन्छ । उद्धारमा प्राविधिक र दक्ष जनशक्ति खटिनु पर्छ । विशेष ज्ञानयुक्त जनशक्ति भए खटाउन सकिन्छ ।”गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्